प्रधानमन्त्री र मन्त्रीहरू आफ्नै निर्वाचन क्षेत्रका मात्रै हुने गरेको उपेन्द्र यादवको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
654
Shares
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन्। उनले यस प्रवृत्तिले राजनीतिक अस्थिरता निम्त्याएको र विकासमा बाधा पुगेको धारणा राखेका छन्।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै यादवले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री र मन्त्रीहरू पूरा देशको नभई आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाए। यसले कतिपय सांसदहरूले अर्को पटक मत नै नपाउने स्थिति बन्ने गरेको उनको भनाइ छ। यादवले राजनीतिक स्थिरता नभईकन विकास सम्भव नहुने बताए। पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्न अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।
अध्यक्ष यादवले भने, "राजनीतिक स्थिरता नभईकन विकास हुँदैन। धेरै कुरा भताभुङ्ग भएर जान्छ। त्यो पनि अर्धसत्य त हो। थाइल्याण्डमा राजनीतिक स्थिरता कम छ, विकास तीव्र गतिले अघि गइरहेको छ।"
उनले नेपालको निर्वाचन प्रणालीको आलोचना गर्दै भने, "हामीले यस्तो निर्वाचन प्रणाली अपनायौँ, प्रधानमन्त्री कहाँको हुन्छ? अरू देशमा प्रधानमन्त्री देशको हुन्छ। हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ। आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ। सबै स्रोत, साधन त्यहीँ पुर्याउँछ। त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ। कतिपय सांसद त घरको न घाटको हुन्छन्। अर्को पटक जनताले भोट पनि हाल्दैनन्। 'के गरिस्? के विकास गरिस्?' भन्छन्। पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्नुपर्छ। त्यसो गर्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्छ।"