निर्वाचन पद्धति र शासन प्रणालीमा गहन बहस आवश्यक - सभामुख
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
568
Shares
काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपालको निर्वाचन पद्धति र शासन प्रणालीबारे थप गहन बहस हुन जरुरी रहेको बताएका छन्। उनले शासन प्रणालीलाई कसरी अझ प्रभावकारी र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा छलफल चलाउनुपर्नेमा जोड दिएका छन्।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै सभामुख घिमिरेले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीमा देखिएका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका हुन्। निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सबैको उचित सहभागितामूलक ढङ्गबाट सञ्चालन गर्ने तथा त्यसबाट चुनिएका जनप्रतिनिधिले शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट काम गर्ने विधि के हुनसक्छ भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको उनको भनाइ छ।
सभामुख घिमिरेले भने, "अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौँ, जनमुखी बनाउन सक्छौँ? यो शासन प्रणालीमा आएका समस्या हुन् कि निर्वाचन प्रणालीका दोषहरू हुन्? निर्वाचन प्रणालीका दोषहरू हुन् कि निर्वाचन आचारसंहितासँग गाँसिएका कुराहरू हुन्? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको भूमिकाको समस्या हो कि?"
उनले बहुमतीय प्रणालीमा जान सजिलो हुने किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिने तर्क गर्दै पूर्ण समानुपातिक प्रणालीमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरू चलिरहँदा खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरूको बारेमा बढी विवेचना हुनुपर्नेमा जोड दिए। "नेपालको सन्दर्भमा हामीले समावेशी बनाउने एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ। दुईवटा आवधिक निर्वाचन गरेर त्यसको परिणाम भोगिरहेका छौँ," उनले थपे, "निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामूलक ढङ्गबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट कामहरू गर्ने विधि के हुनसक्छ? यो नै आजको छलफलको विषय हो।"