arrow

स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व आवश्यक - उपप्रधानमन्त्री पौडेल [भिडियो]

नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
bishnu-poudel-29.jpg

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई वैदेशिक रोजगारीमा जानबाट रोकी स्वदेशमै अवसर सिर्जना गर्नेगरी आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यक्रमहरू अघि बढाइएको बताएका छन्।

बिहीबार काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसले अन्तरिक्षमा सम्भावना खोजिरहेका बेला नेपालले देशभित्रै सम्भावनाको खोजी किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए। उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यान्वयन योजनाको आवश्यकता रहेकोमा जोड दिए।

अर्थमन्त्री पौडेलले भने, "मान्छेले अन्तरिक्षमा सम्भावना खोजिरहेका छन्। हामीले देशभित्रैको सम्भावनालाई खोजी किन नगर्ने? त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ। यसको निम्ति सही राजनीतिक नेतृत्व, सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यान्वयन योजनाको आवश्यकता पर्ने हो। त्यही भएर अहिले सरकारले यो विषय महत्वका साथ अघि सारेको छ।"

उनले थपे, "हामी हाम्रो जनशक्तिलाई देशभित्र कसरी रोक्न सक्छौँ? कसरी सम्भावना देशभित्रै खोजी गर्न सक्छौँ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको छ। नयाँ प्रकारको इनोभेसन, उद्यमशीलता, मान्छेहरूलाई केन्द्रित गर्नेगरी कार्यक्रम बजेटले ल्याएको छ। हामी स्टार्टअप, आईटीको सन्दर्भमा अरु प्रकारका उद्यमशीलताका सन्दर्भमा बजेटले कार्यक्रम ल्याएको छ, यसको कार्यान्वयनसँगै देशभित्रै भविष्य खोज्ने आधार बनाएर लैजान सक्छौँ।"

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति र जलस्रोतको सही सदुपयोग गरेर विकसित हुन सक्ने बताए। उनले नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्न सक्ने तेल र ग्यासको खानी रहेको जिकिर गरे। प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालन गर्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ