arrow

समितिमा नागरिकता विधेयक

गैरआवासीय नेपाली नागरिकतालाई अधिकारसम्पन्न बनाउनुपर्नेमा सांसदहरूको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
samiti-nagarikta-bidhayak.jpg

काठमाडौँ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गर्दै सांसदहरूले गैरआवासीय नेपाली (एनआरएन) लाई प्रदान गरिने नागरिकतालाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, उनीहरूले नागरिकताको विषयमा आमाको पहिचानलाई सम्मान गर्दै दुरुपयोग रोक्न र भविष्यमा आउन सक्ने समस्याप्रति सचेत रहन पनि आग्रह गरेका छन्।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकता जन्मसिद्ध अधिकार भएकाले आमा वा बुबा दुईमध्ये एक जनाको पहिचानका आधारमा नागरिकता सुनिश्चित हुनुपर्ने बताए। उनले 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' ले अघिल्लो कानुनले बेवास्ता गरेको आमाको पहिचानलाई सम्मान दिएको उल्लेख गरे।

शर्माले संविधानको भावनाअनुरूप विदेशमा रहेका नेपालीहरूप्रति भावनात्मक सम्बन्ध जोड्न सक्नेगरी विधेयक ल्याइनुपर्नेमा जोड दिए। उनले भने, "समाजले सजिलै चिन्ने आमालाई हाम्रो नागरिकता विधेयकले नचिन्ने विगतको एउटा समस्या थियो। अहिले आएको ऐनले आमालाई पनि सजिलै चिन्ने प्रयास गरेको मैले देखेको छु। मानिसको जन्मसिद्ध अधिकारको सुनिश्चितता यो ऐनले सुनिश्चि गरेको भन्ने सन्देश दिनुपर्छ।"

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गैरआवासीय नेपालीलाई दिइएको नागरिकता व्यवहारमा प्रभावहीन रहेको उल्लेख गर्दै यसलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए। उनले गैरआवासीय नागरिकतालाई सरकारकै संयन्त्रहरूले समेत नचिन्ने गरेको भन्दै ७७ वटै जिल्लामा यससम्बन्धी सर्कुलर जारी गर्न गृहमन्त्रीसँग माग गरे। पाण्डेले नेपालमा कम्पनी दर्ता गर्न तथा घरजग्गा किन्नको लागि पनि गैरआवासीय नागरिकतालाई मान्यता दिन माग गरे।

उनले भने, "गैरआवासीय नेपाली नागरिकलाई दिइएको नेपाली नागरिकताले नेपालमा कम्पनी दर्ता गर्न, जग्गा किन्नको काम गरिरहेको छैन। मालपोत कार्यालयले समेत त्यो नागरिकतालाई चिन्दैन। त्यसकारण त्यो नागरिकताको आधारमा काम गर्ने स्थिति देखिँदैन।"

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बुबाको पहिचान नखुलेको अवस्थामा आमाको नामबाट नागरिकता दिने कुरा सकारात्मक रहे पनि यसको दुरुपयोग नहोस् भन्ने कुरामा सचेत हुनुपर्ने बताए। उनले दुरुपयोग हुन नदिनका लागि आमाले गरेको स्वघोषणालाई अभिलेख पुस्तिकामा स्पष्टसँग उल्लेख गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले नागरिकताको समस्याले गम्भीर रूप लिएको उल्लेख गर्दै यसमा राज्य संयन्त्र चनाखो हुन जरुरी रहेको बताए। उनले गोरखा सैनिक र गैरआवासीय नेपालीका समस्याहरू समाधान हुनेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिँदै विधेयकमा विशेष व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याए।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले विधेयक उदार शैलीमा ल्याइएको भन्दै भविष्यमा उत्पन्न हुन सक्ने समस्याहरूतर्फ ध्यान दिन आग्रह गरे। उनले बुबा र आमा दुवैको नाममा नागरिकता दिँदा अंश वा लालनपालनका विवाद नउठुन् भन्नेतर्फ सचेत हुनुपर्ने बताए।

समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरूले गोरखा सैनिकहरूलाई वंशजको नागरिकता दिन नहुने कुरामा जोड दिएका छन्। यद्यपि, गैरआवासीय नेपालीहरूले प्राप्त गरेको नागरिकतालाई अधिकारमैत्री बनाउनुपर्नेमा उनीहरूको साझा जोड रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ