शक्तिशाली मन्त्रीको जिल्लामा बजेट नै बजेट, अरू ठाउँमा सन्तुलन छैन - उपेन्द्र यादव [भिडियो]
एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयनमा चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
593
Shares
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बजेटको वितरणमा असन्तुलन रहेको भन्दै यसलाई ‘लुट’ र ‘डकैती’ को संज्ञा दिएका छन्। सङ्घीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बजेट शक्तिशाली मन्त्रीहरूको जिल्लामा केन्द्रित भएको आरोप लगाए।
“मैले बजेट हेरेँ। जो पावरफुल मन्त्री छ, त्यसको जिल्लामा बजेट नै बजेट छ। अल्लि दुब्लो पातलो मन्त्री भएकोमा अल्लि कम बजेट,” यादवले भने, “सांसद पनि सत्तारुढवालालाई अलि बढी, बाँकीलाई त छैन। यो न्यायोचित हो त? प्रधानमन्त्रीको क्षेत्रमा बजेट नै बजेट। भूपू प्रमको जिल्लामा बजेट नै बजेट। तर अरू ठाउँमा बजेटको सन्तुलन छैन। यसलाई न्यायोचित भन्न मिल्दैन। यो परम्पराले बजेट बनाउन थालियो भने बजेटको लूटै हो। डकैती नै हो।”
यादवका अनुसार, आगामी आर्थिक वर्षको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको छ, जसले गर्दा बजेट असन्तुलित बनेको छ र यस्तो ‘लुट’ बन्द हुनुपर्ने उनको भनाइ छ।
एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताए। उनले संघीय सरकारमा रहेकाहरूको मानसिकता नै एकात्मक रहेको र यसले सङ्घीयतालाई नोक्सानी गरिरहेको बताए। उनका अनुसार, सरकारले आगामी वर्षका लागि ल्याएको बजेट सङ्घीयताको मर्मअनुरूप छैन।