कोरोना संक्रमण बढेसँगै पूर्वतयारी योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
838
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोना भाइरसले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी पूर्व तयारी योजना र रणनीति तत्काल कार्यान्वयनमा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको यथार्थलाई मध्यनजर गर्दै सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गरेका हुन्।
उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्व तयारी कार्यान्वयनमा ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे। पौडेलका अनुसार, भारतमा विगत नौ दिनमा ३ हजार ४२३ जना कोरोना संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भइसकेको छ। यसले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने अवस्था सिर्जना गरेको उनको भनाइ छ।
"भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिनदिनानु तिब्र गतिमा बढीरहेको छ," पौडेलले भने, "विगतका ९ दिनमा तीन हजार चार सय २३ जना संक्रमित थपिएका र ५८ जनाको मृत्यु भइसकेको छ। नेपालबाट हजारौंको संख्यामा नेपाली कामदार भारत जाने र भारतबाट पनि रोजगारीका लागि नेपाल आउने गरेको यथार्थलाई मध्यनजर राखी नेपाल सरकारले सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउने।"
उनले सीमा आवागमन सहज र सुरक्षित बनाउन, परीक्षण केन्द्र, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियान विस्तार गर्न तथा भारतबाट नेपाल फर्कने नेपाली नागरिकलाई निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन समेत माग गरेका छन्। पौडेलले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी योजना र रणनीति तुरुन्त कार्यान्वयनमा ल्याउन सरकार र सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन्।
उनले नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा विशेष जोड दिए।