arrow

पाल्पाको रिमिघा लेकमा भेटियो बहुमूल्य यार्सागुम्बा, स्थानीय उत्साहित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
yarsa-palpa.jpg

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट र वडा नं ३, रिमिघा लेकमा बहुमूल्य जडीबुटी यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणबाट फेला परेको वस्तु यार्सा नै भएको पुष्टि डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।

गत साता रिमिघा लेक क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो। त्यसको पुष्टि गर्न प्रयोगशालामा पठाइएपछि यार्सा नै भएको प्रमाणित भएको हो।

यार्सागुम्बा भेटिएसँगै गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएअनुसार, प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसी यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले यार्सा नै प्रमाणित भए पनि त्यो कस्तो प्रजातिको हो र त्यसको औषधीय गुण (मेडिसनल भ्यालु) कति छ भन्ने यकिन नभएको बताए। करिब १ हजार ८०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी निकै उत्साहित भएका छन्।

यार्सागुम्बा हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने विश्वकै बहुमूल्य औषधीजन्य र बहुगुणयुक्त प्राकृतिक जडीबुटी हो। विश्वमा यार्सागुम्बा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइन्छ।

यार्सागुम्बामा शक्तिवद्र्धक गुण हुनुका साथै यसको प्रयोग क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु लगायतका रोगहरूको औषधि बनाउन प्रयोग हुने गरेको जनाइएको छ। यो सामान्यतया समुद्री सतहबाट ३ हजार ५०० मिटरदेखि ५ हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ। आयुर्वेद चिकित्सकका अनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ