कृषि मन्त्रालयको काममा कुनै कमजोरी छैन: मन्त्री अधिकारी [भिडियो]
गरिबी निवारण पहिलो प्राथमिकता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
718
Shares
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयबाट गरिने काममा ‘कुनै पनि बहानामा’ कमजोरी नभएको दाबी गरेका छन्।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। मन्त्री अधिकारीले मन्त्रालयबाट हुने कार्यसम्पादनमा यो वा त्यो नाममा, वा कुनै विचारको नाममा कमजोरी नभएको बताए।
मन्त्री अधिकारीले सबै समान रहेको बताउँदै गरिबीसँग लडेर कुनै पेसा व्यवसाय नभएका मानिसहरूलाई कसरी उकास्ने भन्नेमा मन्त्रालय लागिपरेको दाबी गरे। "गरिबी हटाउने र समृद्धि ल्याउन गरिबीसँग लडेका तथा कुनै पेसा व्यवसाय नभएका किसानहरूलाई अगाडि बढाउनु आफ्नो पहिलो प्राथमिकता हो," उनले जिकिर गरे।
व्यवसायीकरणमा जाने र औद्योगिकीकरण गर्ने विषय मन्त्रालयको दोस्रो प्राथमिकतामा रहेको मन्त्री अधिकारीले स्पष्ट पारे। उनले मन्त्रालयबाट हुने गतिविधिलाई थप कार्यान्वयन गर्न र कुनै गल्ती भए सुधार गर्न समितिले समय समयमा बैठकहरू बोलाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, “कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका तर्फबाट गरिने कुनै पनि कामका लागि यो वा त्यो नाममा, यो विचार वा अर्को विचारको नाममा अथवा कुनै पनि ढङ्गले त्यो किसिमको कमजोरी छैन, सुन्नु पनि भएको छैन होला। सबै बराबरी हुन्। गरिबीसँग लडेर केही पेसा व्यवसाय नभएका मान्छेलाई माथि उकास्ने के ले हुन सक्छ? त्यो गरिबी हटाउने र समृद्धि ल्याउने काम कहाँबाट गर्न सकिन्छ भनेर त्यस्ता किसानहरूलाई अगाडि बढाउनुपर्छ पहिलो प्राथमिकता, दोस्रो प्राथमिकतामा मात्रै हामी व्यवसायीकरणमा जाने, औद्योगिकीकरण गर्ने भन्ने सोँच मन्त्रालयले राखेको छ।”
बैठकमा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि अनुदानलाई उत्पादनमूलक, पारदर्शी र अनुमानयोग्य बनाउनका लागि दुईवटा कार्यविधि बनाइएको जानकारी दिए।