परम्परागत स्वाद र संस्कृतिले लोभ्याउँदै लमजुङको पसगाउँ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
646
Shares
गण्डकी । लमजुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ आफ्ना परम्परागत परिकारहरू जस्तै सिस्नोको तरकारी, कोदोको सेल, निगुरो र गिठ्ठा आदिका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैंमा जीवन्त सङ्ग्रहालय जस्तै देखिन्छ। समुद्री सतहबाट १ हजार ६५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई स्थानीयले संरक्षण गरेर राखेका छन्।
सङ्ग्रहालयझैँ गुरुङ संस्कृति र परम्परा
संस्कृतिहरूको पुस्तान्तरण गरिएको यस गाउँमा अहिले पनि गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सतिघाटु नाच लगायतका लोपोन्मुख संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। पसगाउँ सामूहिक होमस्टेका सचिव रतनसिंह गुरुङले गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ सन् २००३ (२०६० साल) देखि यहाँ होमस्टे सञ्चालन गरिएको बताए। गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्न २२ घरमा होमस्टे सञ्चालन भइरहेको उनको भनाइ छ।
विसं २०६० देखि स्थापित भए पनि २०७४ सालदेखि औपचारिक दर्ता भई सञ्चालनमा आएको होमस्टेमा दैनिक १०० जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको उनले बताए। सुरुमा तीनवटा घरबाट यहाँ होमस्टे सुरु गरिएको थियो। प्राचीन मौलिकतालाई जोगाउँदै बढ्दो बसाइँसराइ रोकी पर्यटनका माध्यमबाट गाउँमा नै आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य रहेको समेत रतनसिंह गुरुङले जानकारी दिए।
प्राकृतिक र धार्मिक महत्वका आकर्षण
गाउँमा स्थानीय मौलिकतालाई जोगाउनका लागि ढुङ्गाले छाएका घरहरू संरक्षण गरिएको छ भने गाउँका चोक तथा बाटोहरू ढुङ्गाले छपक्क छापिएको छ। गाउँभित्रै ठाउँठाउँमा रहेका परम्परागत घुमाउने घरले यहाँको सौन्दर्यलाई अझै उजागर गरेको छ। यहाँका १५३ घरमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका छन्।
गाउँको शिरमा रहेको क्होंमे्रडाँडामा भ्यूटावर सँगै अन्य विभिन्न संरचना निर्माण गरिएको छ। गाउँको पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिलाहरू अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा आदिले पनि यहाँको सौन्दर्य र महत्त्वलाई अझै बढाएका छन्। त्यस्तै, कैलाश पर्वतजस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्त्वलाई अझै उजागर गरिरहेको स्थानीयवासी बताउँछन्।
शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वाससमेत रहेको छ। यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेका छन्।
गुरुङ सम्पदा पदमार्गमा पसगाउँ
पसगाउँको घरबासलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्ने गरी प्रवर्द्धनका कार्यक्रमहरू सुरु गरेको छ। सङ्घका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले सङ्घकै सक्रियतामा कास्की, लमजुङ र मनाङका विभिन्न भूभाग समेट्दै सम्पदा पदमार्ग घोषणा गरिएकामा यसलाई सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजनासहित चरणबद्ध रूपमा अध्ययन, अनुसन्धानका कार्यक्रम सञ्चालन गरिएको बताए।
सङ्घका अध्यक्ष किसमकुमारी गुरुङका अनुसार, सङ्घले तेस्रो चरणको कार्यक्रमअन्तर्गत यही जेठ २३ गतेदेखि पोखराबाट सिङ्दी, पसगाउँ लगायतका गाउँहरू समेट्दै दूधपोखरी, गुरुङ देउराली लगायतका स्थानसम्म अन्वेषणात्मक पदयात्रा सञ्चालन गरेको छ।
पसगाउँलाई पदयात्रासँग जोड्ने गरी कार्यक्रमहरू सञ्चालन हुनुलाई आफूहरूले अर्थपूर्ण रूपमा लिएको होमस्टे सञ्चालक सदस्य मायादेवी गुरुङले बताइन्। पसगाउँ आएका पर्यटकलाई यहाँकै स्थानीय उत्पादन खुवाउने गरिएको र पर्यटकहरू खुसी भएर फर्कने गरेको अनुभव उनले सुनाइन्। पदयात्रासँग जोडिएपछि यहाँको प्रकृति र संस्कृति पर्यटन बजारमा पुग्ने विश्वास उनले व्यक्त गरिन्।
पसगाउँ पुग्ने वैकल्पिक मार्गहरू
पसगाउँ आउन चाहने पर्यटकका लागि विभिन्न वैकल्पिक मार्गहरू उपलब्ध छन्। लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीसहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ। पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन भइरहेका छन्।
पोखरा हुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो अझै व्यवस्थित भइनसक्दा यात्रीले समस्या भोग्दै आएको स्थानीयवासीको गुनासो छ। गुरुङ सम्पदा पदमार्गको नक्साङ्कनमा समेटिएका पसगाउँ लगायतका गाउँहरूको प्रवर्द्धन र विकासका लागि पनि स्थानीयवासीको उत्तिकै जागरुकता आवश्यक हुने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङले बताए। प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटकलाई प्रदान गरिने आतिथ्यताका लागि समेत सबैको सामूहिक प्रयास आवश्यक हुने उनको भनाइ छ।