आज चार संसदीय समितिका बैठक बस्दै, विविध एजेन्डामा छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
2k
Shares
काठमाडौँ । आज (आइतबार) एकै पटक चारवटा संसदीय समितिको बैठक बस्दैछ। यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कार्यसूची रहेको छ।
१. विकास, आर्थिक मामिला तथा सुशासन समिति:
मध्यान्ह साढे १२ बजे बस्ने यस समितिको बैठकमा कृषकहरूलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ। यस्तै, कृषि अनुदानलाई उत्पादनमूलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धि माथि पनि समीक्षा हुनेछ। बैठकमा कृषिजन्य उत्पादन (उखु, अलैंची, अदुवा, कफी, चिया, सुपारी लगायत) को उत्पादन र बजार व्यवस्थापन तथा रैथाने कृषिबालीको संरक्षण र विकास लगायतका विषयमा छलफल गरिनेछ।
२. विधायन व्यवस्थापन समिति:
दिउँसो २ बजे बस्ने यस समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ।
३. सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति:
दिउँसो २ बजे नै बस्ने यस समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिनेछ।
४. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति:
यस समितिको बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतका विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुनेछ।