अहिले नेपाली राजनीतिमा झोले भन्ने शब्द निकै चर्चित भएको छ । यस शब्दलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्त सकारात्मक अर्थमा प्रयोग गर्न खोज्दैछन् । कुनै शब्दले समय अनुसार जे अर्थ दिन्छ त्यसलाई कुनै व्यक्ति विशेषले जबर्जस्त बदल्छु भनेर बदलिँदैन ।
भाषा सिद्धान्तमा र भाषाको विकासक्रममा शब्दहरूको आगम, लोप, अर्थमा परिवर्तन स्वभाविक रुपमा भइरहन्छ । भाषाका शब्दहरू सामाजिक सम्पत्ति हुन् । कुनै व्यक्ति विशेषले जबर्जस्त परिवर्तन गर्न सक्दैन । शब्दको अर्थ आफैँ बन्छ र आफैँ नै परिवर्तन हुन्छ ।
शब्दहरूका विषय, स्थान र सन्दर्भअनुसार फरक फरक अर्थ हुन्छन् । नेपाली भाषाको झोले भन्ने शब्दले कुनैबेला राजनीतिक सन्दर्भमा विचार र आस्थाको झोला बोक्ने भनेर अत्यन्तै गहकिलो, ओजनदार, राम्रो र सकारात्मक अर्थ दिन्थ्यो । समयक्रममा अहिले आउँदा झोले शब्द व्यङ्ग्यात्मक अर्थ दिने शब्दका रुपमा स्थापित भएको छ ।
प्रधानमन्त्रीले अब झोलेलाई सकारात्मक अर्थ दिने शब्द बनाउँछु भनेर सामाजिक संजालमा जतिसुकै रङ्गरोगन गरे पनि तत्कालै बन्दैन । झोलाबाट झोले बनेको भए पनि अहिले नेपाली राजनीतिक सन्दर्भमा झोले शब्दले सकारात्मक अर्थ दिँदैन । हिजोका झोलेहरूले जस्तै बोकेका आजका ती झोलाहरूमा विचार र आस्थाको झोल छैन, झोललाई पोखियो । अहिले न त्यस्तो झोला छ न त्यस्तै झोल नै, केवल छ भिन्नार्थ झोलेमात्र ।
ओली सामान्य व्यक्ति मात्र होइनन्,उनी संस्था हुन् । उनी सार्वजनिक व्यक्ति हुन् । उनी एमाले पार्टीका अध्यक्ष र सरकारका प्रधानमन्त्री हुन् । उनका हरेक क्रियाकलापमा सामाजिक चासो हुनु स्वभाविक हो । प्रधानमन्त्री ओलीले एमाले पार्टीलाई झोले पार्टी हो भनेर नामकरण गरेपछि बहस, आलोचना, चर्चा र टीकाटिप्पणी हुनु पनि स्वभाविकै हो । यसमा ओली जवाफदेही हुनुपर्छ । कौवाले आफ्नो नाम आफैँ काढ्छ भन्छन् । हो ओलीले पनि आफ्नो नाम काढे । ओलीले एमालेलाई अत्यन्तै सङ्कुचित पार्दै झोले पार्टीमा परिणत गराए ।
ओली वा ओली गुटले झोलेका बारेमा जेजस्तो स्पष्टीकरण दिए पनि त्यो कत्ति पनि पत्यारलाग्दो छैन । एमालेलाई झोले संगठन भनेर भनिरहँदा स्वयं अध्यक्षले नै यसलाई स्वीकारे । ओलीले पुष्पलालदेखि मदन भण्डारीसम्मले बोकेको झोला रित्याए । च्याते र धुजाधुजा हुने गरी मिल्काए र अहिले स्वघोषित झोले नै भए । यद्यपि प्रधानमन्त्री ओलीले एमालेलाई झोले भने पनि यसभित्र निष्ठावान र इमान्दार कार्यकर्ता पनि छन् ।
झोले शब्दको व्युत्पादनलाई हेर्दा झोलामा ए प्रत्यय लागेर झोले बनेको हो । यो विशेषण शब्द हो । झोला भनेको काँधमा बोक्न मिल्ने वा हातैले पनि समाएर हिँड्न मिल्ने कपडा वा अन्यबाट बनेको वस्तुलाई बुझिन्छ । घरबाट बाहिर निस्कँदा आफूलाई चाहिने सरसमान राखी बोकेर हिँडिने वस्तु नै झोला हो । झोला विभिन्न प्रकार, रङ्ग र आकारका हुन्छन् ।
झोलाहरू कपडा, प्लास्टिक, छाला, कागज आदि विभिन्न कच्चा पदार्थहरूबाट बन्ने गर्दछन् । झोलाहरू सस्तादेखि अत्यन्तै महँगासम्म हुने गर्दछन् । नेपालमा गरिब जनताका नेता भनिनेहरूले लाखौँ पर्ने महँगा महँगा झोलाहरू बोकेको समयसमयमा समाचारमा आउने गर्छन् । खासमा झोला हुनु भनेको त्यसभित्र केही राख्न मिल्नु वा केही समान हुनु नै हो । भित्र केही राख्न नमिल्ने एकसरो कुनै खास कपडा वा वस्तुलाई झोला भनिँदैन ।
सामान्य अर्थमा झोलाबाट बनेको झोले शब्दले झोला बोकेर हिँड्ने व्यक्तिलाई बुझाउँछ । तर यो शब्दले अहिले आएर राजनीतिक सन्दर्भमा झोलाको ठीक विपरीत अर्थ दिन्छ । झोला नबोक्नेलाई झोले भनेर बुझिन्छ । आफ्नो व्यक्तिगत स्वार्थको लागि राजनीतिक नेताको चाकडी र चाप्लुसी गरी अन्धभक्त भएर हिँड्ने व्यक्तिलाई झोले भनेर बुझिन्छ ।
नेपाली राजनीतिमा पछिल्लो चरणमा झोलेहरूको बिगबिगी भएको छ । कुनै आस्था, विचार, सिद्धान्त र मूल्यमान्यताको अवलम्बन नगरी राजनीतिक दललाई आफ्नो व्यक्तिगत कम्पनी जस्तो बनाई एकल वर्चस्व जमाएका कुनै खास नेतृत्वको पछाडि लागेर राज्यको सम्पत्ति दुरुपयोग गरी खान पल्केका तथाकथित दलका कार्यकर्तालाई झोले भनेर बुझिन्छ ।
खासमा झोले भनेका काम नगरी खान पल्केका नेताका पुच्छर हुन् । उनीहरूको मुख्य उद्देश्य भनेको नेताको भजनकीर्तन गरी खानु र आफ्ना नेतालाई खुशी पार्नु नै हो । काम नगरी खान पल्केका झोलेहरू नेतालाई देवतासरह गुणगान र प्रशंसा गरिरहन्छन् । दलका नेताहरू पनि सकभर झोले कार्यकर्ता नै बनाउन चाहन्छन् ।
ओलीले जहिले पनि अति नै सानामसिना र तुच्छ कुरामा नेपाली समाजलाई अल्झाइरहेका हुन्छन् । उनी उट्पट्याङ गर्न खप्पिस छन् । बालबच्चालाई ढुकुर मार्न आँखामा खुर्सानी हाल्नुपर्छ भनेजस्तै तरिकाले जनतालाई बकबास र नचाँहिदा कुरामा समय बर्बाद गर्दै सत्ता टिकाउने खेल खेलिरहेका हुन्छन् ।
जनतालाई आकर्षित गर्ने ठूला, दिगो विकास र योजनाका बारेमा कुनै खास एजेन्डाका समाचार बनाउँदैनन् । उनी खास कुरामा संवेदनशील नभई होश नै गुमाए झैँ गरी अहिले एमालेलाई झोले पार्टी नै भनेर आधिकारिक रुपमै घोषणा गरे । अब एमाले भीरै खोज्न लागेको र पखेटै हाल्न खोजेको त होइन भन्ने प्रश्न उब्जिएको देखिन्छ ।
ओलीले बोकेको एमालेको झोलामा विचार, सिद्धान्त, लोकतान्त्रिक आचरण, सांगठनिक अनुशासन, जवाफदेहिता र जिम्मेवारीपनको रस वा झोल नहुनाले उनी समय समयमा यस्तै किसिमका प्रहसन, हाँस्यास्पद, बकम्फुस र उरन्ठेउला क्रियाकलाप गर्न रुचाउँछन् ।
अहिले एमालेले आफूलाई झोले स्वीकार्यो । यहाँ एमाले बाहेक मुख्य राजनीतिक दलहरू पनि बकम्फुस गफमा समय बर्बाद गरिरहेका छन् । देश र जनतामाथि चरम खेलबाड गरिरहेका छन् । देशको प्रधानमन्त्री नै केवल झिनामसिना कुरा उठाएर देशलाई झन् पछि झन् बर्बादीतिर लगेका छन् ।
बाल उमेरमा टालाटुली बटुली कति राम्री पुतली भन्ने खेल खेलेजस्तै जनताको भविष्यमा खेलबाड गरिरहेका छन् । ओलीले विचार र सिद्धान्तको झोला बोक्न र बोकाउन नसकेको हुनाले उनमा राजनीतिक मनोरञ्जनात्मक पखेटा पलाइरहेका देखिन्छन् । उनी जादूगर र नौटंकीमा मस्त छन् । उनको जादूमय खेलमा केबल उनका झोलेहरूले भरपूर मनोरञ्जन लिइरहेका देखिन्छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले गरुङ्गो झोला बोकेको भनेर स्पष्टीकरण दिइरहेका छन् । अहिले एमालेको झोलामा माक्सवाद, लेनिनवाद, माओवाद र जनताको बहुदलीय जनवाद, लोकतान्त्रिक संस्कार केही पनि छैनन् । एमालेको झोलामा यति, ओम्नी, गिरिबन्धु, गोयल, बतास, सुनकाण्ड, भुटानी शरणार्थी, एनसेल, सहकारी र पछिल्लो समय भिजिट भिसाजस्ता काण्डैकाण्डका खातको गन्धमात्र आउँछ । एमालेको झोलामा अध्यक्ष ओलीको अंहकार, घमण्ड र स्वेच्छाचारिताको थुप्रो देखिन्छ ।
कम्युनिष्टको आचरण र जीवनशैली एमालेको झोलामा कत्ति पनि छैन । नेता, कार्यकर्ता र आम जनताका बिचको सामाजिक र आर्थिक अवस्थामा निकै भिन्नता छ । माक्सवादी विचारले त नेता र जनताको सामाजिक र आर्थिक हैसियत समान हुनुपर्छ भन्छ त ? लेनिनवादी संगठनले दलमा प्रतिस्पर्धा र लोकतान्त्रिक आचरण हुनुपर्छ भन्छ त ? अनि जनताको बहुदलीय जनवादले समाजवाद र बहुदललाई मान्छ त ?
आज एमालेका झोलामा यी केही पनि छैनन् । पुष्पलालले बोकेका झोलामा राष्ट्रियता, देशप्रेम, देश विकासको नमूना, मेचीकाली, सर्वहारा वर्ग, सीमान्तकृत वर्ग, पिछडिएका वर्ग, दलित, शोषित र आदिवासी वर्ग थिए । अहिले ओलीले बोकेको एमालेको झोलामा दलाल, बिचौली, भ्रष्टाचारी, अवसरवादी, पूँजीपति, दक्षिणपन्थ मात्रै देखिन्छन् ।
हिजोको एमालेको साख र रस आज केही पनि छैन । हिजो कम्युनिष्टहरूले भन्ने झुपडीका सिद्धान्तहरू आज आफ्नै महलमा परिणत भए । भोकका भट्ट र मकैहरू भुजामा परिणत भए । चप्पल र एकसरो कपडाहरू अत्याधुनिक सुविधा सम्पन्न सवारी साधनमा परिणत भए । सामन्ती, दलाल र नोकरशाह भनिनेहरू भान्सा र ओछ्यानका साथी भए ।
साम्राज्यवाद र विस्तारवादका नाराहरू लम्पसारवादमा परिणत भए । यसैले पनि अब एमाले झोलेमा परिणत भएको हो । एमाले पार्टी अध्यक्ष ओलीले नै आफूलाई एमाले नभनेर झोले भन्न रुचाए र उनी स्वयंले म झोले हुँ भने।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको पनि ७५ वर्ष पूरा भइसकेको छ । ७५ वर्षमा कम्युनिष्टका ७५ भन्दा बढी पसल छन् । कम्युनिष्टको नाम धारण गरे पनि आजका कम्युनिष्ट भनिनेहरूमा कम्युनिष्टको सिद्धान्त, विचार, आस्था, कार्यशैली र जीवनशैली केही पनि छैन ।
एमालेका झोलामा कांग्रेस र राप्रपा भेटिन्छन् । सूर्यको ठाउँमा रुख र हलो भेटिन्छन् । देशमा बहुदलीय प्रजातन्त्र आएको ३६ वर्ष र गणतन्त्र आएको १८ वर्ष बित्दा कम्युनिष्टकै नेतृत्वमा पटक पटक सरकार बने । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकार बाहेक अरुबाट खासै कम्युनिष्टका नाराले भने अनुसारका कामै हुन सकेनन् ।
एमालेको नेतृत्वमै आधा दर्जन पटक सरकार बन्यो तर गरिब, पीडित र शोषित वर्गका समस्या समाधान भएन । एमालेहरू मोटाउँदै गए र झोले बने । जनता दुब्लाउँदै गए । यद्यपि देशमा बहुदलपछि विकास हुँदै नभएको भन्ने होइन । अपेक्षा अनुसारको हुन सकेन ।
देशमा सामाजिक, आर्थिक र राजनीतिक विकृति र विसंगतिहरूका जरा र हाँगाहरू अत्यन्तै फैलिए । नेताले राज्यको चरम दुरुपयोग गरे । अहिले त राज्य संयन्त्र नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखिन्छ । देशलाई विकृति र विसंगतिले जतिसुकै थिलोथिलो पारे पनि अहिलेको व्यवस्थाको विकल्प अरु हुनै सक्दैन ।
यही व्यवस्था भित्रैबाट नेपाली जनताको अवस्था परिवर्तन गर्न जतिसक्दो छिटो अहिलेको नेतृत्वलाई हटाउने अभियानमा जनता सरिक हुनुपर्ने देखिन्छ । राज्यको अहिलेको मुख्य दायित्व भनेको भ्रष्टाचार उन्मुलन गरी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको संरक्षण गर्नु हो । अहिले व्यवस्थामा प्रश्न उठाउनुको सट्टा नेतृत्वप्रति नै प्रश्न उठाउनु पहिलो आवश्यकता हो ।
मुख्य र जिम्मेवार राजनीतिक दलका झोलामा देश, जनता, लोकतन्त्र, अनुशासनको खडेरी परिरहेको छ । अब दल र नेतामा चेत आओस् र जनताको मन जित्न सफल होउन् । राजनीतिक दलमा कार्यकर्ता बन्नुपर्छ, झोले बन्ने होइन । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)