सङ्खुवासभामा बाढीको वितण्डा: पाँच काठेपुल र दुई लघुजलविद्युत् आयोजना बगायो
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
540
Shares
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बुधबार आएको बाढीले पाँच वटा काठेपुल बगाएको छ। यसका साथै, केही दिनअघि आएको बाढीले दुई वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्याउँदा २५० घरधुरी विद्युत् विहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार, बुधबारको बाढीले भोटखोला वडा नम्बर १ र २ तथा वडा नम्बर १ र ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको छ।
यसैगरी, भोटखोला १ र ३ जोड्ने घङजुङ खोलाको काठेपुल, छोकाङ खोलाको काठेपुल र माप्च्या खोलाको पुल पनि बाढीले बगाएको छ।
बाढीका कारण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हटिया र हुङहुङ सडक पनि बगेको छ। सडक अवरुद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।