arrow

अमेरिकामा स्वास्थ्य योजना कटौतीले आदिवासी समुदायमा गम्भीर असर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
America-2014.png.png

काठमाडौं ।  अमेरिकाको सङ्घीय स्वास्थ्य कार्यक्रममा भएको ठूलो कटौतीले देशभरका आदिवासी समुदायका नेताहरूमा चिन्ता बढाएको छ। यस कटौतीले आदिवासीहरूको स्वास्थ्य सेवामा गम्भीर असर पार्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

नेभाजो आदिवासी समाजका अध्यक्ष बू न्यग्रेनले सङ्घीय अनुदान र कामदार कटौतीले चार लाख जनसङ्ख्या भएको नेभाजो समुदायलाई प्रत्यक्ष असर पारेको बताएका छन्। नेभाजो आदिवासी क्षेत्र अमेरिकाको एरिजोना, न्यू मेक्सिको र युटाह राज्यमा फैलिएको सबैभन्दा ठूलो आदिवासी आरक्षण हो।

अमेरिकी स्वास्थ्य तथा जन कल्याण विभागले आफ्नो कामदार सङ्ख्या घटाउने योजना बनाएको छ। यसबाहेक, राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विभागका सबै काममा खर्च ३५ प्रतिशत कम गर्ने निर्देशन दिएको छ।

यी कटौतीका कारण आदिवासी समुदायलाई दिइने अनुदानमा कमी आएको छ र स्वास्थ्य परियोजनाहरूमा समस्या देखिएको छ। नेभाजो प्रतिनिधि चेरीलिन याजिजीले यी कटौतीहरूले आदिवासी समुदायको जनजीवनमा प्रत्यक्ष असर पुर्‍याइरहेको बताएकी छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार, सङ्घीय कर्मचारी कम हुँदा स्वास्थ्य सेवा कार्यक्रममा आवश्यक सहयोग र आर्थिक सहायता पाउन गाह्रो भएको छ।

राष्ट्रिय आदिवासी स्वास्थ्य बोर्डले स्वास्थ्य मन्त्रीलाई पठाएको पत्रमा आदिवासी समुदायले छ लाख अमेरिकी डलरभन्दा बढी अनुदान गुमाएको जानकारी दिएको छ। यसले समुदायका स्वास्थ्यकर्मी, खोप कार्यक्रम र तथ्यांक सुधार योजनामा प्रतिकूल असर पार्ने सम्भावना छ। स्ट्यान्डिङ्ग रक सिउक्स समुदायकी अध्यक्ष जेनेट अल्काइरेले यसले स्वास्थ्य सेवामा ठूलो प्रभाव पार्ने बताइन्।

संयुक्त दक्षिण तथा पूर्वी आदिवासी सङ्गठनकी लिज मेलरबाले यी निर्णयहरूमा आफूहरूसँग कुनै सल्लाह नगरिएको बताएकी छन्। उनले यी कटौतीहरू सङ्घीय सम्झौता उल्लङ्घन गर्ने कदम भएको दाबी गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ