भिजिट भिसा प्रकरणका नाममा संसद बन्धक बन्यो, प्रतिनिधि सभा छ दिनदेखि चल्न सकेन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि बैठक बस्न नसकेको हो । गत जेठ १५ गते सरकारले बजेट पेश गरेपछि बैठक बस्न सकेको छैन ।
भिजिट भिसा प्रकरणमा देखिएको अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् ।
सत्तारुढ नेपाली कांग्रेस र एमालेले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले संसद् चल्न ढिला भइरहेको बताए ।
प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग रहेको उनले जानकारी दिए ।
यता, सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेसँगै बैठक थप अन्योल बनेको छ ।
सत्तापक्ष र प्रतिपक्षी दलले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो ।
राष्ट्रिय सभामा नियमित छलफल भइरहेकामा प्रतिनिधि सभामा बजेट सम्बन्धी छलफल नै नचल्दा अन्योल बढेको छ ।