भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ- विश्वप्रकाश शर्मा [भिडियो]
अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ र प्रधानमन्त्रीसम्म पुग्छ भने जे कानुनको दायरा हो त्यो दायरामा सबै आउनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
644
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन्।
आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। उनले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शीर्ष तहसम्म संलग्नता देखिए कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए। उनले अघिल्लो गृहमन्त्री रवि लामिछानेको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी पनि गरे।
"उजुरी जो व्यक्तिमाथि परेको छ, त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनुपर्यो," उनले भने, "अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरू र प्रधानमन्त्रीसम्म पुग्छ भने पनि जे कानुनको दायरा हो त्यो दायरामा सबै आउनुपर्छ।"
उनले संसदीय छानबिन समिति बनाउनुभन्दा संवैधानिक अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनुपर्ने बताए।