प्रतिनिधि सभा स्थगित, विपक्षी गृहमन्त्रीको राजीनामाको अडानमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
2.1k
Shares
काठमाडौँ । गत जेठ १५ गतेदेखि बस्न नसकेको प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्न सकेन । सोमबारदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहल र सभामुख देवराज घिमिरेले गरेको पहल विफल हुँदा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
मंगलबार पटक पटक सरेको बैठक अन्ततः बस्दै नबसी स्थगित भयो । दलहरूबीच सहमति नजुट्दा बैठक बुधबारका लागि सारिएको हो ।
भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने एक सूत्रीय माग विपक्षी दलहरूको छ । मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको विपक्षी दलको बैठकले छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
विपक्षीको स्पष्ट अडानपछि पनि सभामुखले विपक्षी र सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरी निष्कर्षमा पुगिने असफल प्रयास गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नेपालीबाट असुल हुने गरेको प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारी संलग्न रहेको विपक्षी दलहरुको आरोप छ ।
विपक्षी दलहरुले संसदबाट बजेट पेश गर्न अवरोध नगरेको भए पनि त्यसअघि र त्यसपछि भने भिजिट भिसाले संसदको समय बर्बाद गरिरहेको छ ।