दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
727
Shares
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यसले सुदूरपश्चिमको विकासका लागि महत्त्वपूर्ण ढोका खोल्ने अपेक्षा गरिएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि द्रुत गतिमा काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, बन्दरगाह निर्माणस्थल, दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म १,००० रुख कटान भइसकेका छन्। कूल १,५९३ रुख काट्नुपर्नेमा यो महिनाभित्र कटान कार्य सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउने तयारी छ। यसका लागि भारतले निर्माण कम्पनी पनि छनोट गरिसकेको छ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने यस सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। भारतीय पक्षले बन्दरगाह निर्माणका लागि २ अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा बोलपत्र आह्वान गरी निर्माण कम्पनी छनोट गरिसकेको छ। नेपाली पक्षले बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण गरेपछि पूर्वाधार निर्माण सुरु हुनेछ।
बन्दरगाहका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
नेपालले सुक्खा बन्दरगाहसम्मको ६ लेनको पहुँचमार्ग र महाकाली नदीमा ४ लेनको पक्की पुल सञ्चालनमा ल्याइसकेको छ। भारतले पनि बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि सुदूरपश्चिम क्षेत्रको विकासका लागि ठूलो सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।