‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान, किसान चिन्तित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
692
Shares
झापा । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ नामक रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ। नगरपालिकाका कृषि शाखा प्रमुख रबिन भट्टराईका अनुसार, सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको हो।
धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि बाली नष्ट हुँदा किसानहरू निरास भएर स्थानीय पालिका गुहारेका छन्। "लहलह धानका बाला झुल्न थालेका थिए," एक बिघा १५ कट्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भनिन्, "एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो।"
मैनालीका अनुसार, हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन पनि समस्या भएको छ। बर्खे धान पाकेपछि हिउँदे धान लगाउने चलन भए पनि बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको उनको भनाइ छ। धानबाली लगाउँदा किसानले मल, बीउ, सिँचाइ र श्रममा ठूलो लगानी गरेका हुन्छन्। "धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ," किसान सुशीला काफ्लेले बताइन्।
कृषि शाखा प्रमुख भट्टराईले नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउको उपचार गर्न आवश्यक रहेको बताए। किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उनको भनाइ छ। उनले पाँच वर्षअघि पनि यस्तै डढुवा रोगले धान सखाप पारेको स्मरण गरे।
भट्टराईले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि पालिकाद्वारा किसानलाई निःशुल्क विषादी उपलब्ध गराइरहेको जानकारी दिए। माटो परीक्षण गरी प्राविधिकको सिफारिसअनुसार मात्रै रासायनिक मलको प्रयोग गर्नसके यस्ता रोगको प्रकोप नदेखिने उनको भनाइ छ।