भारतमा कोरोनाबाट २० को मृत्यु, ३२ सय भन्दा बढी सक्रिय संक्रमित
अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई रुघाखोकी, खोकी, ज्वरो वा कोभिड जस्ता लक्षणहरू देखिएमा विद्यालय नपठाउन अपील
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
1.9k
Shares
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । यीमध्ये सबैभन्दा बढी ६ मृत्यु महाराष्ट्रमा भएको छ। कर्नाटकको मैसूरमा शुक्रबार ६३ वर्षीय एक पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण तेस्रो मृत्यु हो।
यसबाहेक महाराष्ट्र, केरला, राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा कुल १३ जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य विभागले मे ३१ मा दिल्ली, गुजरात, पञ्जाब र तमिलनाडुमा एक(एक जनाको मृत्युको पुष्टि गरेको छ।
सक्रिय संक्रमितको संख्या ३२०७ पुगेको छ । केरलामा सबैभन्दा धेरै ११४७ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ ।
शुक्रबार महाराष्ट्रमा ८४ नयाँ संक्रमित थपिएका थिए । त्यहाँ ६८१ बिरामी छन् । दुई राज्यमा देशभरका संक्रमितमध्ये ६० प्रतिशत संक्रमित रहेका छन् ।
यसैबीच कर्नाटक सरकारले राज्यमा बढ्दो कोरोनाका घटनाहरूलाई ध्यानमा राख्दै नयाँ परिपत्र जारी गरेको छ। यसमा अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई रुघाखोकी, खोकी, ज्वरो वा कोभिड जस्ता लक्षणहरू देखिएमा विद्यालय नपठाउन अपील गरिएको छ।