पहिलो पाइला टेकेको ७२ वर्ष पूरा, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
778
Shares
काठमाडौँ । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको ऐतिहासिक दिन, अर्थात् ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस भव्यताका साथ मनाइँदैछ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सगरमाथाको शिखरमा पाइला टेकी मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ मा अन्तर्राष्टिय सगरमाथा दिवस मनाउने गरिएको छ।
यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी सगरमाथा दिवसलाई भव्य रूपमा मनाउने कार्यक्रम तय गरेको छ। दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ।
पर्यटनमन्त्री पाण्डेले रासससँग कुरा गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरिएको बताए। उनले जेठ १५ गते गणतन्त्र दिवस र संसदमा बजेट वक्तव्य पनि रहेकाले उपयुक्त कार्यक्रमसँग नजुध्ने गरी तालिका मिलाइएको जानकारी दिए।
दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत भएको थियो। दिउँसो भने ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने यस कार्यक्रममा कीर्तिमानी आरोहीहरूका अनुभव आदानप्रदान गरिनेछ। साथै, साहसिक पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे पनि बहस हुनेछ। दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीहरूलाई सम्मान गरिने कार्यक्रम पनि तय भएको छ। पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकारवालाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पहिलो सगरमाथा आरोहीको स्मरण गर्दै हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै आएको बताए। उनले हिलारीको परिवार तथा विभिन्न मुलुकका आरोहीहरू अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन नेपाल आउने जानकारी दिए। "लुक्ला विमानस्थललाई तेन्जिङ हिलारी विमानस्थलको नामाकरण गरिएको छ। सगरमाथा विश्वको सम्पदा र सम्पत्ति भएकाले यसलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन सबै गम्भीर हुनुपर्ने आवश्यकता छ," अध्यक्ष शेर्पाले भने, "पछिल्लो समय विश्वव्यापी तापमानका कारण हिमालको हिउँ पग्लेर कालापत्थर देखिन थालेको भन्दै सगरमाथा र हिमाल संरक्षणबारे चिन्तन गर्ने बेला आएको छ।"
एक तथ्यांकअनुसार नेपालमा ५,८०० मिटरमाथिका १,७९२ हिमाल रहेका छन्, जसमध्ये ८,००० मिटरभन्दा माथिका आठ हिमाल नेपालमै छन्। यी सबैमध्ये ४६१ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन्।
पर्यटन विभागले यस वर्ष पनि दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्मान गरिने कार्यक्रम रहेको जनाएको छ। दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भविष्यका प्राकृतिक सुन्दरताको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ।