arrow

जेठ १५ को कार्यक्रमबारे प्रधानमन्त्रीको अभिव्यक्ति पार्टी अध्यक्षको हैसियतमा - एमाले महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
shankar-pokhrel-07-30.jpg

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेठ १५ गतेको कार्यक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रधानमन्त्रीको रूपमा नभई पार्टी अध्यक्षको रूपमा आएको स्पष्ट पारेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले जेठ १५ गते (गणतन्त्र दिवस) काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै सोही अनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए। महासचिव पोखरेलले पार्टीको भेलामा पार्टीको नीति बोल्नु स्वाभाविक भएको र यसमा भ्रममा नपर्न आग्रह गरे। उनले भने, "प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै जना हुनुहुन्छ। उहाँले प्रधानमन्त्रीको रूपमा राज्यका नीति बोल्नुहुन्छ, अध्यक्षका रूपमा पार्टीका नीति बोल्नुहुन्छ। कहिलेकाहीँ हामी के भ्रममा पर्दछौँ भने पार्टीको भेलामा पनि पार्टी नीति बोल्दा पनि प्रधानमन्त्रीले राज्यकै नीति बोल्नुभयो भन्ने अर्थमा बुझ्ने गर्छौं। पार्टीका आन्तरिक भेलामा उहाँले पार्टी नीति बोल्नुभएको छ।"

पोखरेलले गणतन्त्र दिवस जनताको खुसी र गौरवको दिन भएकाले यसलाई उत्सवका रूपमा मनाउन लागिएको बताए। उनले गणतन्त्रलाई सरकार र गणतन्त्र स्थापनामा भूमिका खेल्ने पार्टीहरूले समेत उत्सवको रूपमा मनाउनुपर्नेमा जोड दिए। एमालेले गणतन्त्रको महत्व स्थापित गर्नका लागि यसलाई रक्षात्मक नभई उत्सवका रूपमा मनाउन लागेको उनको भनाइ थियो।

संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गर्ने दिन नै गणतन्त्र दिवस पर्ने गरेकोले राज्यको उपस्थिति कमजोर भएको भन्दै महासचिव पोखरेलले यसमा सुधार गर्न आवश्यक रहेको बताए। उनले भने, "बजेट प्रस्तुत गर्ने दिन भएको कारणले राज्य जुन प्रभावकारी ढंगले सामेल हुनुपथ्र्यो त्यति हुन नसकेको कुरा हामीले अनुभूति गरेको र त्यसमा पनि भविष्यमा सुधार गर्नुपर्ने भएको हुनाले हो पार्टीले उत्सव मनाउने भनेको हो। यसलाई बाध्यताको रूपमा नबुझौँ।"

महासचिव पोखरेलले प्रधानमन्त्री बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुपरेको कारण मानव अधिकार आयोगको कार्यक्रममा उपस्थित हुन नसकेको समेत स्पष्ट पारे। प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विज्ञप्ति जारी गरेको कारण प्रधानमन्त्रीले कार्यक्रम बहिष्कार गरेको भन्ने हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ। उनले आयोगलाई आफ्नो भूमिका तटस्थ, निष्पक्ष र संविधानअनुसार राख्न सुझावसमेत दिए।

पोखरेलले जनताको बढ्दो आकांक्षा र अपेक्षाका आधारमा काम हुन नसकेको स्वीकार गर्दै गणतन्त्रवादी दलहरू राज्यको समृद्धिमा हातेमालो गर्न जरुरी रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ