गृहमन्त्रीलाई माओवादीको प्रश्न- खाने आफू दोष चाहीँ कर्मचारीलाई ? [भिडियो]
राजनीतिक संरक्षणबिना भिजिट भिसाको नाममा मानव तस्करी जस्तो गम्भीर अपराध सम्भव नहुने दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
717
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नता रहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा भ्रष्टाचार भइरहेको गम्भीर आरोप लगाएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद सुवेदीले भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुराएको छ महिना नपुग्दै भिजिट भिसा सेटिङ प्रकरणले थप लज्जित बनाएको टिप्पणी गरे। उनले राजनीतिक संरक्षणबिना भिजिट भिसाको नाममा मानव तस्करी जस्तो गम्भीर अपराध सम्भव नहुने दाबी गरे।
सुवेदीले भिजिट भिसाको आवरणमा भएको तस्करीमार्फत गृहमन्त्री आफैं संलग्न भए पनि कर्मचारीलाई दोष दिएर उम्किन खोजेको आरोप लगाए। उनले "बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले?" भन्दै प्रश्न गरे। गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको दाबी गर्दै उनले निष्पक्ष छानबिनको माग गरे। सांसद सुवेदीले गृहमन्त्री लेखकको भाषण र आचरणमा फरक रहेको टिप्पणी समेत गरे।
उनले भने, "आज परिस्थितिले छुट्टै विषयमा बोल्नुपर्ने बनायो। यो साताभर एउटा गम्भीर विषयमा चर्चा भइरहेको छ। मूलभूत रूपमा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भइरहेको। त्यो पनि थोरै रकम होइन दिनमा पचास लाख रुपैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ। यो अहिले सर्वाधिक चर्चाको विषय छ। हामीलाई थाहा छ कुनैदिन भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरायो। कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो। यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शिर निहुराएको छ। बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले? यो दुःखद कुरा हो। गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ। हाम्रो देशको छवि अब कस्तो होला?"
यसैबीच, भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले प्रतिनिधि सभामा अवरोध जारी राखेका छन्।