arrow

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
surendra-panday-gorkha.jpg

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिकाको नव निर्मित भवन उद्घाटन कार्यक्रममा उनले गणतन्त्रपछि केही भएन भन्नेहरुले गणतन्त्र अघिको अवस्थालाई राम्रोसँग बुझ्न सक्नुपर्ने बताए ।

“केही राजनीतिक कारणले गर्दा जति हुनुपथ्र्यो त्यति भएन नै होला, जति हुनसक्थ्यो त्यति पनि भएन होला,” उनले भने, “तर केही भएन भनेर भाष्य निर्माण गर्न खोजेर केही प्रतिगामीले राजतन्त्रको कुरा गरेका छन्, त्यो हामीले बुझ्नुपर्छ ।”

सत्ता स्वार्थका लागि आफूले गुमाएको सत्ता फर्किन्छ की भन्ने मनसाय बोकेर प्रतिगामी तत्वहरुले जनतालाई भ्रमित पार्ने काम गरिरहेको उनको भनाइ छ । 

“यो संविधान र व्यवस्था लामो बलिदान र धेरै जनताको कुर्वानीबाट आएको व्यवस्था हो,” उनले भने, “त्यसैले यसको रक्षा गरेर आवश्यकताअनुसार जनताको पक्षमा हुने गरी संशोधन गर्दै अगाडि जाने वातावरण हामीले बनाउनुपर्छ ।”

संविधानमा लेखिएका कतिपय अधिकारका बारेमा सङ्घीय कानुन निर्माण नहुँदा स्थानीय सरकार र प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको उनले बताए ।

“तीनै तहका सरकारका आआफ्ना एकल अधिकार र साझा अधिकार भए पनि कानुन बन्न नसक्दा अझै समस्या छ”, उनले भने, “चाहे त्यो निजामति विधेयक होस्, चाहे प्रहरी समायोजन वा शिक्षासम्बन्धी विधेयक होस् ।”

कानुन समयमा निर्माण नगर्ने अनि काम गर्न सकेन भनेर स्थानीय र प्रदेश सरकारलाई बदनाम गर्न खोजिएमा व्यवस्थामै चुनौती आउने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ