arrow

पुवाखोलामा 'बेलिब्रिज' निर्माण अन्तिम चरणमा, मेची करिडोर सहज हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
puwakhola-belibridge.jpg

इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा 'बेलिब्रिज' निर्माण अन्तिम चरणमा पुगेको छ। इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने यो पुलको जडान धमाधम भइरहेको छ।

सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेका अनुसार, सङ्घीय सरकारको १ करोड ३५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यो बेलिब्रिज जेठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ४८.६ मिटर (१६० फिट) लम्बाइको यो पुलको ७० प्रतिशत काम सम्पन्न भइसकेको घिमिरेले जानकारी दिए।

यसअघि पुल नहुँदा यात्रीहरूलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो र मध्य बर्खामा यो सडक पूर्ण रूपमा बन्द हुने गर्दथ्यो। बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्सातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ। यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

मेची राजमार्गको वैकल्पिक सडकको रूपमा लिइएको यो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरीको छ। इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटरको ठेक्का लागेर निर्माण भइरहेको छ। सडक डिभिजन प्रमुख इन्जिनियर पवन भट्टराईले बाँकी रहेको भागमा समेत काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ