arrow

पूर्वीनाकाबाट भित्रियो साढे चार करोडको तरबुजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
watermelon-82-2-1-(14).jpg

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको तरबुजा भारतबाट आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी तरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा तरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा तरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित तरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ ।

विगत १० महिनामा सबैभन्दा बढी चैतमा रु एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी तरबुजा भारतबाट आयात भएको छ । भन्सारले जनाएअनुसार चालु आवको पहिलो महिना साउनमा रु ६० लाख ५० हजार मूल्य बराबरको दुई लाख ३० हजार ८५० केजी, भदौमा रु ४८ लाख ९८ हजार मूल्य बराबरको एक लाख ८६ हजार १४० केजी, असोजमा रु ३७ लाख २९ हजार मूल्य बराबरको एक लाख ४१ हजार ४५० केजी, कात्तिकमा रु २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा रु १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा रु १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी तरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ ।

त्यसैगरी, माघमा रु २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा रु ४४ लाख ८८ हजार मूल्य बराबरको एक लाख ७३ हजार ७८९ केजी, चैतमा रु एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी र वैशाखमा रु ६५ लाख ८६ हजार मूल्य बराबरको दुई लाख ५२ हजार ६५० केजी तरबुजा आयात भएको पाइएको छ ।

विगत केही वर्षदेखि झापामा व्यावसायिक तरबुजाखेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित तरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताउनुभयो । खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा तरबुजाखेती गर्दै आउनुभएको छ । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन तरबुजा उत्पादन भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ