मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार आवश्यक: प्राधिकरण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
570
Shares
काठमाडौँ । नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ वटा विपद्का घटना घटेका छन्। यसबाट हुने क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधारको आवश्यकता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बताएका छन्।
बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भट्टले दिएको जानकारीअनुसार, विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना, पहिरोका २ हजार ८ सय ४० वटा घटना, भारी वर्षाका १ हजार ५ सय ९७ वटा घटना र चट्याङका २ हजार ४ सय वटा घटना भएका छन्।
भट्टले यस वर्ष विगत वर्षको तुलनामा बढी पानी पर्ने र गर्मी पनि सरदरभन्दा बढी हुने आकलन गरिएको बताए। उनले यस वर्ष गत वर्षको भन्दा बढी क्षति हुनसक्ने आँकलन गर्दै सोहीअनुसार पूर्वतयारीको काम भइरहेको जानकारी दिए।
मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको उनको भनाइ छ। उनले सबै काम संघबाट मात्र गर्न सम्भव नहुने भन्दै स्थानीय तहलाई उनीहरूको जिम्मेवारी दिनुपर्नेमा जोड दिए। साथै, स्थानीय तहको क्षमता विकास गर्न पनि आवश्यक रहेको बताए।
भट्टले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गरे।