लेखा समितिको नेतृत्व विवाद: कांग्रेसको माओवादीलाई जवाफ– 'भागबण्डाबाटै भएको हो, शीर्ष नेतासँग कुरा गर्नुहोस्'
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
548
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सार्वजनिक लेखा समितिको सभापतिको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) लाई 'नगिजोल्न' आग्रह गरेका छन्। उनले समितिको नेतृत्व भागबण्डाकै आधारमा भएको र यो विषयमा बारम्बार प्रश्न उठाउनुभन्दा आफ्ना शीर्ष नेताहरूसँग कुरा गर्न माओवादीलाई सुझाव दिए।
बुधबारको बैठकमा घिमिरेले तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेकाले अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिने अभ्यास अनुरूप नै यो एमालेको भागमा परेको स्पष्ट पारे। उनले भने, "सार्वजनिक लेखा समितिको सभापतिको विषयमा बारम्बार हरेक बैठकमा प्रश्न उठ्ने गर्दछ। अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास हो। संसदीय अभ्यासमा।"
घिमिरेले समितिको गठन राजनीतिक भागबण्डाको आधारमा भएको भन्दै यो शीर्ष नेतृत्वको निर्णय भएको बताए। "यो समिति बन्दा भागबण्डै भएको हो। राजनीतिक भागबण्डाको आधारमा समितिहरू भागमा परेका हुन्। सबै दलले आफ्नो-आफ्नो जुँगा हेरि भाग भनेको जस्तो भाग पाएका छन्। यो राजनीतिक शीर्ष तहमा मिलेर गरिएको निर्णय हो," उनले थपे।
उनले यस विषयलाई लिएर सधैँ सभापतिलाई दोषारोपण गरिरहनु राम्रो नभएको उल्लेख गरे। प्रमुख सचेतक घिमिरेले शीर्ष नेतृत्व तहमा कुरा गरेर सभापति बदल्नुपर्ने भए बदल्न कुनै कठिनाइ नरहेको तर यसलाई सधैँ गिजोल्ने काम नगर्र्न आग्रह गरे।