आज चार संसदीय समितिका बैठक बस्दै, बजेटदेखि विपद् व्यवस्थापनसम्म छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
2.4k
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज (बिहीबार) चारवटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुनेछ। उक्त बैठकमा समिति सदस्यहरूका साथै राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र नेपाल उद्योग परिसङ्घ (सीएनआई) बीच छलफल हुनेछ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ः०० बजे बस्दैछ। उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ। यस बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता, पूर्वबजेटका सम्बन्धमा छलफल हुनेछ। बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ।
त्यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ। यस बैठकमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुनेछ। बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजना र विविध विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।