पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम र व्यापारी जगन्नाथविरुद्ध राजस्व छली मुद्धा
नारायण वली,
प्रकाशित २०८२ जेठ ५ सोमबार
922
Shares
तस्बिर – दधिराम खरेल ।
लुम्बिनी । साना सवारी साधनका महँगा पार्टस्को तस्करी गरी राजश्व छली गरेको आरोपमा बुटवलका पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलसँगै उनका साझेदार जगन्नाथ खनालको गलत कारोबारको धन्दा यतिबेला छताछुल्ल भएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुसन्धान तथा तहकिकातबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ नयाँमिलका दधिराम खरेल र सोही वडाका शुभलक्ष्मी पथका जगनन्नाथ खनालविरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गरेको अभियोगमा विहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएपछि खरेल र जगन्नाथले गर्दै आएको कर्तुत बाहिरिएको हो ।
राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत् राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान गर्दा विपक्षी खरेल र साझेदार खनाल विरुद्धको उक्त कसूर पत्ता लगाएर मुद्धा दर्ता गरेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले बताए ।
सत्तासमीकरणलाई हातमा लिन चतुर रहेका खरेलले लगातार पश्चिम नेपाल बस व्यवसायी संघको नेतृत्वमा तीन कार्यकाल एक छत्रराज जमाउँदै आएका छन् ।
तत्कालीन सशस्त्र द्वन्द्वकालमा तिलोत्तमा बाहिर कालो कांग्रेस भनेर चिनिने तर भित्रीरुपमा भूमिगत पार्टी माओवादीलाई आन्तरिक चन्दा दिने र नेता कार्यकर्तालाई जोगाउन भूमिका खेलेको ०६३ मंसिरमा भएको शान्ति सम्झौतापश्चात् रहस्य बाहिरिएपछि त्यतिबेला झसंग भएको थियो ।
राजनीतिक शक्ति जता बहन्छ उतै लेसिन जानेका खरेल बस समितिको अध्यक्ष रहँदै गर्दा उनका मात्रै दुई सयवटा गाडीहरु रहेको बुझिएको छ ।
तस्करी गरी राजस्व छलि गरेको अभियोगमा देखिएका खरेलले साझेदार व्यवसायी जगन्नाथ खनालसँग बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा शुभलक्ष्मी अटो लिंक प्रालिमार्फत् गाडीहरुको वर्कसप र मोटर पार्टसको कारोबार गर्दै आएका छन् ।
उनीहरुले सञ्चालन गर्दै आएको शुभलक्ष्मी अटो लिङ्क प्रालिका सञ्चालक खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शुभलक्ष्मी अटो लिङ्क प्रालीको आफ्नै वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको अध्ययन तथा अनुसन्धान गर्दा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ४ (छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि भएकाले उनीहरुलाई ऐनको दफा २ (छ १) बमोजिम चुहावट भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसहितको बिगो ७२ लाख ११ हजार ३ सय गरी कायम गरी ऐनको दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवानासहित एक करोड ४४ लाख २२ हजार ६ सय रुपैयाँ असुलउपरगरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको विज्ञप्तिमा स्पष्ट लेखिएको छ ।
चोख्याउने प्रपञ्च
पछिल्लो समय नेकपा एमालेको कार्यकर्ता बनेका खरेलको राजस्व छलि गरेको राजस्व अनुसन्धानले पुष्टि गरी उच्च अदालतमा पेश गरेको मुद्ध बाट जोगाउन खेलिएको राजनीतिक भूमिका छर्लङ्ग भएको छ ।
उनीहरुविरुद्ध अदालतमा गरिएको थुनछेक बहसपछि मुद्धामा पेस भएका प्रमाणका आधारमा प्रतिवादीहरु कसूरदार होइनन् भन्ने अहिले नै भन्न नसकिने ठहरसहित विशेष अदालत ऐन २०४९ को दफा ७ ‘घ’ बमोजिम प्रतिव्यक्ति २० लाख धरौटीमा छाड्ने आदेश गरिनुले खरेल र उनका साझेदार जगन्नाथलाई चोख्याउन राजनीतिक दबाबमा अदालत परेको देखिन्छ ।
केही दिनअघि मात्रै एमाले लुम्बिनी प्रदेशका बहालवाला सांसद पूर्व स्वास्थ्यमन्त्रीसमेत बनेका विष्णु पन्थीले गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा मोरङ जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी झण्डै ६ महिना भन्दामाथि गुमनाम राखेर खुलेआम हिँडेका पन्थीको बारेमा सञ्चार माध्यममा आएको समाचारले सरकारलाई दबाब परेपछि जेल चलान हुने डरले हतारमा पैसा तिरेर अदालतलाई एक वर्ष अगाडि पैसा तिरेको मिति हाल्न लगाएर उम्केको चलखेल परिघटना ताजै छ ।
जसले गर्दा सांसद पन्थीलाई जस्तै कैदबाट जोगाउन पैसा तिरेको जस्तै खरेल र खनाललाई जेल जानवाट जोगाउन आयकरसहितको बिगो ७२ लाख ११ हजार ३ सय तिराएर चोख्याउने राजनीतिक प्रपञ्च खेलिएको कालिकानगरका एक अटो मोबाइल्स व्यवसायीले नाम नखुलाउने सर्तमा भने ।
व्यापारीक हब मानिने बुटवलमा भित्रिरुपमा गरिँदै आएका राजस्व छलीमा संलग्न रहेका राष्ट्रपतिबाट समेत सम्मानित विभिन्न व्यावसायिक प्रतिष्ठान तथा प्रतिष्ठित व्यवसायीमाथि राजस्व अनुसन्धान कार्यालय बुटवलले कारबाही प्रक्रिया अघि बढाउँदै आएको छ ।