धुलिखेल–साँगा सडक खण्डमा कालोपत्र शुरु, असारभित्र तीन किमी सम्पन्न हुने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
514
Shares
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडक खण्डमा कालोपत्रको काम शुरु भएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असार महिनाभित्र कालोपत्र सम्पन्न गरिनेछ।
अरनिको राजमार्गको साँगा–धुलिखेल खण्ड ६ लेनमा विस्तार भइरहेको छ। सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेकोमा साँगा–धुलिखेल खण्डमा कालोपत्र शुरु गरिएको हो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले धुलिखेल मुख्य चोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडकमा हाल कालोपत्र शुरु गरिएको जानकारी दिए।
हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको बताइएको छ। इन्जिनियर खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुनेछ। पहिलो तहमा ३० देखि ३५ सेमीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ र अन्तिममा ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको छ।
सूर्यविनायक–धुलिखेलसम्मको १६ किलोमिटर सडक खण्डमा सूर्यविनायक–साँगा ७.५ किमी र साँगा–धुलिखेल ८.५ किमी रहेको छ। यो दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड र दुई चरणमा ठेक्का सम्झौता भएको थियो। सूर्यविनायक–साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिरमा र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा भएको थियो।
सडक खण्ड दुई सर्भिस लेन र चार मेन लेन सहित ६ लेनको बनाउने सम्झौता छ। इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडक खण्डको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ। हाल शुरु गरिएको तीन किलोमिटर कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य आयोजनाको रहेको छ।
उक्त आयोजना अन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडक खण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाख र दोस्रो चरणमा शुरु भएको सूर्यविनायक–साँगा सडक खण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो।
साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि सडक विस्तारको काम थालिएको हो। चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुलेपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ। हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामा दूरीका दुई हजार ५०० भन्दा बढी सवारी दैनिक गुड्ने गरेका छन्।