भनिन्छ सभ्यताको गिरावट हुँदै जाँदा मानिसको सिङ पलाउँछ रे । अनि मानिस विस्तारै आदिम युगतर्फ उन्मुख हुन्छ रे । त्यसपछि मस्तिष्कमा रहेको अमिगडालाले मात्र काम गर्न थाल्छ रे । अमिगडाला तन्तुहरुको एक समूह हो जसले त्रास र संवेगात्मक जानकारी उपलब्ध गराउँछ, भन्छन् डा रोबर्ट सापोल्स्की । उनी स्ट्यानफोर्ड विश्व विद्यालयको चिकित्सा संकायका निवृत्त प्राध्यापक हुन् ।
यता गणतन्त्रपछि रामेछापले रुप फेर्यो । यसअघि पञ्चायतका धुरन्धर नेता नवराज सुवेदीले पनि एक पटक रुप फेरिदिएका रहेछन् । तर उनले सडक ल्याउने प्रयास गरेनन् भन्ने स्थानीयहरुको बुझाइ रहेछ ।
गणतन्त्रपछि रामेछापका पालिकाहरुमा बाटो पुग्यो । बिजुली पुग्यो । गाउँहरु स–साना सहरमा परिणत भए । यसरी नै परिवर्तन भएका रामेछापेली गाउँमध्येका हुन्, दुरागाउँ र सैपू ।
दुरागाउँ लिखू तामाकोशी गाउँ पालिकाको वडा नं १ मा पर्छ भने सैपू २ मा । सदरमुकामबाट मात्र ४२ किलोमिटर टाढा छन् तर दिनभरको सडक यात्रा छ । काठमाडौँबाट बिहान गुडेको गाडी दिउँसो २–३ बजेतिर धोबी पुग्छ । त्यसपछि धोबीबाट मात्र ९ किमी टाढा पर्ने सैैपू पुग्छ । धोबीबाट भाडा लाग्छ ५० रुपैयाँ तर नयाँ मुर्गा भेटे डेढ सय ठोक्छन् ।
यता सवारीका कर्मचारीले आफूलाई राजा सम्झिँदा रहेछन् । विकासे कार्यकर्ताका रूपमा यी तिनै सहर पुगियो । मन्थलीबाट धोबी पुग्न ठ्याक्कै तीन घन्टा, धोबीबाट सैपू पुग्न एक घन्टा अनि दूरागाउँ थप एक घन्टा ।
अघिल्लो पटक गइयो धोबीसम्म । एक साताको बसाइमा तीन वटा वडाका टोल टोल पुगियो । सिलङबिलङ सेता रांैधारीमात्र बाँकी छन् । तन्नेरी कि त सहर, कि त विदेश । खेतबारीमा बाँदर र हरिणको रजाइँ । खेती गर्नेलाई पर्नु पीर परेको छ ।
पहिलो पटकको यात्रामा उपाध्यक्ष दीपा म्याडमको सहयोगमा धोबीबाट मन्थली झरियो । कृषि विकास कार्यालय मन्थलीमा राखेको गाडी लिएर हानिइयो, कोशी लगानी सम्मेलनमा ।
बाँकी चार वडा घुम्न फेरि बैशाख २९ मा चढियो लेकतिर । विराटनगरको उत्पात गर्मी छेल्दै बेलटारमा बिहानको खानापछि लागियो सिन्धुलीतिर । जति नै प्रयास गरे पनि दिउँसो १ बजे मन्थलीबाट माथि चढ्ने गाडी नभेटिने निश्चित भयो ।
उता खडक सर बिहानैदेखि खुर्कोटमा पर्खिने । यता बुद्धिसर गाडी हुइँक्याउने । बद्रीसर घुर्ने, बेलाबेला ठूलै गफ हान्ने । बल्तल्ल पुगियो खुर्कोट । सुन्दर हरैचाबाट बोकेका हरिया काँक्रा र भाउजूले पठाइदिएको नूनखुर्सानी पनि सिद्धियो ।
बल्लतल्ल ३ बजेतिर पुगियो मन्थली । बाटोभर बुद्धि सरले कृषिकी म्याडमको सहयोगमा गाडी मिलाउने प्रयास गर्नुभयो । यसअघि वडाध्यक्ष प्रदिपकुमार तामाङले खोजेको गाडीका मालिक काठमाडौँ पुगेकाले संभावना नभएपछि म्याडमको सहयोग मागियो ।
उता प्रदिप सरले भनेको गाडी काठमाडौँ पुगेकाले सैपूसम्म त्यही आठ, नौ हजारमा जान सकिन्छ भनेका थिए तर उनको सेवा लिन नसकिने भयो ।
अब म्याडमले बल्लबल्ल अनुरोध गरेर एउटा बलेरो मिलाइ दिनुभयो । तर अरु अढाइ घन्टा कुर्नुपर्ने । नत्र अर्को दिन बसबाट जाँदा साँझमा मात्र दूरागाउँ पुगिने ।
मन्थलीको गर्मीमा बसेर समय खर्च गर्नुभन्दा जति तिरेर भए पनि जाउँ भन्ने निर्णयमा पुगियो ।
बढीमा सवा ५ बजे आइपुग्छु भनेका गुरुजी सवा ६ मा मात्र आइपुगे । यस बीचमा मन्थलीका साथीभाइ, सरहरुसँग रमाइलो गरियो । स्थानीय चिरञ्जिवी डेरीमा मिठो लस्सी खाइयो ।
बल्ल सवा ६ बजे उकालो लाग्यो गाडी । भाडा भने ११ हजार । खासमा त १२ हो तर मेडमले भनिहाल्नु भयो भनेर हजार डिस्काउन्ट, भन्छन्, छिमेकी गोकुलगंगाका हरि कार्की ।
कार्कीजी बिजुली रहेछन् । मज्जाले टाउको ठोकिएपछि सोधेँ –गाडी भाइकै हो कि, साहुको ? जवाफ आयो साहुको । हामीले बुझिसकेका थियौँ उनको हँकाइबाट ।
अब १५ किमी खतरनाक कच्ची बाटो छ, उनको कुरो आयो । राति त्यस्तै सवा ८ बजे हामी धोबीबाट हिँड्यौंँ ।
धोबीमा अभ्यासरत समाजवादी अभ्यासबारे यसअघि नै लेखिसकेको छु ।
बाटो जम्मा १५ किमी रहेछ । बोलेरोमा दुई घन्टा लाग्ने । उति सजिलो त होइन तर हरिसरले भने झैं मरि नै हालिने पनि होइन । राति साढे ९ बजे दूरागाउँ पुगियो ।
होटल तारामा बसियो । पालिकासँगै कुम जोडेर स्थानीय प्रविधिमा निर्मित ताराका सञ्चालक दाइभाउजू साह्रै मजाका । देवालीका लागि सहरबाट आफन्तहरु पुगेका, भीडभाड भए पनि साह्रो सजिलो बनाइदिनुभयो, हाम्रो बसाइ ।
भोलिपल्ट वडाध्यक्षज्यूकोमा पुगेपछि पो थाहा भो हरिसरले त डबल ठोकेका रहेछन् । १२ हजारमा त मन्थलीबाट दूरागाउँ पुगेर एक दिन बसेर भोलिपल्ट सोही गाडीमा फर्किने चलन रहेछ । उनले त हामीलाई सिंगल यात्रामै ठोकिदिए ११ । अझ कृषिकी म्याडमको शिफारिसमा हजार घटाएँ भन्दै गफ पनि दिन भ्याए ।
अझ वडा नं २ का अध्यक्ष सन्तोष पौडेलका अनुसार अघिल्लो साता एक बालकलाई सैपूबाट मन्थली र लगेर एक रात उपचार गरेर भोलिपल्ट फर्किदा पनि ११ हजार मात्र लियो । त्यस्तै अघिल्लो पटक मन्थलीबाट सिरिसे जाँदा पनि पाँच हजार मात्र लिएको थियो । सिरिसे पनि वटा नं २ कै बेंसी हो ।
भोलिपल्ट दूरागाउँबाट हिँडियो, सैँपूका लागि । स्थानीय बसमा । बिहान ६ बजे माथि खापिङबाट बस आउँदो रहेछ । देवालीमा सहरबाट आएका मानिस । तन्नेरीका लागि त सिट फूल । म परेँ दुगुणा बैंशे । यदि ३० वर्षे उमेरलाई बैंश मान्ने हो भने मलाई दुईचार वर्षमात्र बाँकी छ, दुगुणा बैंशे बन्न ।
यसै फूलेको कपाल, साथीभाइले ज्येष्ठ नागरिक भन्दै सिट मिलाइ दिए । बसेको पाँचै मिनेट बितेको हुँदो हो, म भन्दा ज्येष्ठ दुई नागरिक आइपुगे । एउटी आमालाई, आमा भन्दा पनि फुपू भन्नुपर्ला, उहाँ म भन्दा १२–१५ वर्षमात्र बुढी हुनुहोला । उहाँलाई सिट छोड्न उठेको मात्र के थिएँ, सहचालकले अर्डर ठोके ।
टाउकोमा चस्मा राख्ने बुढीआमालाई सिट नछोड्ने ?
म शान्त रहेँ ।
मनमनै लाग्यो, यो केटालाई यो सनग्लास उपहार दिनुपर्यो ।
फेरि अर्को मनले भन्यो, यस्ता तमिजविहीनलाई के उपहार दिनू ।
६ किलोमिटर टाढा सैपू फर्किइयो । गाडीमाथि समाउने डण्डा पनि नभएको । हत्केलाभरि कालो कस लाग्यो । गाडीबाट उत्रिनासाथ म हात धुनतिर लागेँ । सहचालक भाइ पछिपछि आए, भाडा माग्न । त्यहाँ कोट लगाउने साथीले दिनुहुन्छ भनेँ । तर हुन्न, दिनुहोस् भने ।
हातमा साबुन लगाइसकेको थिएँ । गाजसहित आएँ । भाडा डेढ सय दिनुहोस् भने, ती भाइले । मात्र ६ किलोमिटर छ भन्थे जान्नेसुन्नेहरु । लाग्दो रहेछ, ५० मागे डेढ सय । हतारहतार खडक सरले दिनुभयो । म कारबाहीबाट बचेँ ।
याद आयो, उही तत्कालीन महेन्द्र सरकारको गीत सन्तान थरिथरिका । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)