arrow

आरम्भ हो आरम्भ होइन

logo
भावकेशर बराल,
प्रकाशित २०८२ जेठ ३ शनिबार
bhabkeshar-baral-82-2-2.jpg

शीतल गिरी (२०१३) नेपाली साहित्यमा अरूले चिनाउनुपर्ने नाम होइन । हुँदै होइन । कर्मले चिनिएको नाम हो । अझ भनौँ, नेपाली वाङ्मयका लागि उनी स्वप्रदीप्त छन् । सारमा उनी साधक हुन्, भाषा र साहित्यका साधक; संस्कार र संस्कृतिका साधक; इतिहास र भूगोलका साधक; तन्त्र र दर्शनका साधक; धर्म र अध्यात्मका साधक; लोकजीवन र स्वान्तसुखायका साधक । मूलतः यही दीर्घ साधनाका कारण सृजनामा उनी इतिहास, दर्शन र साहित्यका त्रिवेणी बनेर बग्न सफल भएका छन् ।

प्रकृतिको अनुशरण नै लोकजीवनको शाश्वत पक्ष हो । र, यो नै सत्य हो । लोकजीवनको यही सार्वभौम अनुभूति र त्यसैको सामूहिक अभिव्यक्तिलाई नै वास्तवमा लोकसाहित्य मान्न सकिन्छ । यस अर्थमा लोकसाहित्य नै आधुनिक साहित्यको जननी पनि हो । नेपाली जनजीवनलाई नजिकबाट नियालेका र लोकवार्तामा सक्रिय सहभागी बनेका गिरी लोकसाहित्यका पारखी पनि हुन्, अनुरागी पनि हुन् । यसका अतिरिक्त दर्शन पनि उनको रुचिको विषय हो । सामान्य अर्थमा त दर्शन एउटा विचार मात्र हो । तथापि, मात्र साधारण वैचारिक अभिव्यक्ति दर्शन होइन । जीवन र जगत््लाई हेर्ने पृथक् अनि गहन दृष्टि नै वास्तवमा दर्शन हो । 

साहित्य लेखकीय विचार त हो । यद्यपि आत्मश्लाघा वा कुण्ठावृत्ति चाहिँ सच्चा साहित्य होइन । हुँदै होइन । साहित्य जीवनको सार्वजनीन सत्य हो । स्रष्टाको मौलिक तथा शाश्वत विचार हो । तसर्थ साहित्य र दर्शनबीच सहकारी सम्बन्ध देखिन्छ । साहित्यको गर्भगृहबाट निस्सृत दार्शनिक चिन्तनको परिशीलन बौद्धिक अभिव्यक्तिगत चातुर्यबाट अनुभूत गर्न सकिन्छ । समग्रमा साहित्य र दर्शन बीचको यही जटिल पथ गिरीले रोजेका छन् । 

आरम्भ उनको लेखनीको आरम्भ भने होइन । यसपूर्व नै उनका करिब एक दर्जन कृति प्रकाशित भएका छन् । उनका सयौँ शोधमूलक लेख पत्रपत्रिकाका माध्यमबाट सार्वजनिक भएका छन् । यसका अतिरिक्त उनले साहित्य, दर्शन र तन्त्रसम्बन्धी दर्जनौँ कार्यपत्र तथा प्रवचन प्रस्तुत गरेका छन् । साथै रेडियो अन्तरवार्तासमेत दिएका छन् । विवेच्य कृति आरम्भ चाहिँ उनको व्यक्ति केन्द्रित समालोचनात्मक निबन्धसङ्ग्रह हो । यसमा गिरीले बहुविविध क्षेत्रका २५ जना व्यक्तिमाथि आफ्नो आलोचनात्मक दृष्टि प्रस्तुत गरेका छन्ः


१. अरनिको महान्् कलाकार थिए । उनले तिब्बत तथा चीनमा गएर नेपाली वास्तुकलाको अद्भुत कौशल प्रदर्शन गरे । तसर्थ उनले चीनमा राजकीय सम्मानसमेत प्राप्त गरेका थिए । अरनिकोको यही अभूतपूर्व कौशलको वृत्तान्त अरनिको वृत्तान्त निबन्धमा आएको छ । अरनिकोमा कालिगडीको दैवी सामथ्र्य प्राप्त थियो । करिब १२ वर्षको कलिलो उमेरमै अरनिकोले दुरुस्त स्वयम्भु चैत्य र अन्य थुप्रै भगवान््का मूर्ति बनाइसकेका थिए । उनको कलाबाट सम्मोहित भएका भिक्षु भद्रबाहुले उनलाई तिब्बत लगेका थिए । निबन्धमा अरनिकोको टोली तिब्बत जाँदाका घटनाप्रसङ्ग यात्रावर्णनको शैलीमा प्रस्तुत भएको छ । तिब्बतमा उनको कलाकौशलबाट प्रभावित वास्पाका (साक्या चैत्यका मालिक तथा बौद्धभिक्षु)को साथमा अरनिको चीनका बादसाह कुबलै खाँको दरबारमा पुगे । उनको अपूर्व कलाकौशलबाट वशीभूत भएका चिनियाँ बादसाहले उनलाई श्वेत चैत्य निर्माण गर्न लगाए । जसले उनलाई विश्वविख्यात बनायो । उनको अद्भुत कलाबाट प्रभावित भएकी तिब्बती धनाढ्य युवतीले उनीसित विवाह नै गरेकी थिइन् । यी र यस्ता अनेकौँ सन्दर्भको चर्चा यस निबन्धमा आएका छन् । 

२. इतिहास प्रसिद्ध राजा द्रव्य शाहको जन्मप्रसङ्देखि उनका बहादुरीका अनेकौँ सन्दर्भ द्रव्य शाह र समय शीर्षक निबन्धमा उद्घाटित भएका छन् । द्रव्य शाह गोर्खाली शाहवंशको जग हाल्ने व्यक्ति थिए । लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहको जन्मपत्रिका हेर्दा उनमा राजयोग परेकाले यिनी पनि राजा हुन्छन् भनी ज्योतिषी नारायणदास अज्र्यालले भविष्यवाणी गरेका थिए रे । पछि उनै ज्योतिष नारायणदास अज्र्यालको कुटिलता र नीतिकौशलका कारण द्रव्य शाह गोरखाको उपल्लोकोट राज्य कब्जा गर्न सफल भएका हुन् । गोरखाका मतवाली राजाबाट राज्यसत्ता हत्याउन सिद्ध ब्राह्मण नारायणदासले गोरखनाथ गुफामा पूजापाठ गरेको तथा गोरखनाथको आशीर्वाद प्राप्त गर्न २१ दिनसम्म तान्त्रिक पुनश्चरण गरेको जस्ता प्रसङ्ग निबन्धमा आएका छन् । पुनश्चरणकै प्रभावले गोरखनाथलाई जगाई द्रव्य शाहलाई गोरखाको राजा हुने वरदान दिलाएको र त्यही वरदानका प्रभावले द्रव्य शाहको बलबुद्धि बढ्दै गएको लगायतका थुप्रै किम्बदन्तीसमेत निबन्धले उठाएको छ । गोरखा दरबारको श्रीवृद्धिका लागि नारायणदासले कालिका भगवतीसमेत पुनश्चरण गरेको प्रसङ्ग रोचक छ । द्रव्य शाहका पालामा गोर्खा राज्यमा खासै उन्नति हुन नसकेको भए पनि तीनकोट हत्याई राज्यव्यवस्था मजबुत पार्न सक्नु उनको ठूलो पुरुषार्थ हो भनी द्रव्य शाहको मूल्याङ्कन गरिएको छ । गोरखा दरबारका अन्य थुप्रै आन्तरिक व्यवस्थाको सूचना निबन्धमा आएको छ । अहिलेको पुस्ताले द्रव्य शाहलाई राम्ररी बुझ्न नसकेको गुनासो निबन्धकारले गरेका छन् । आफ्नो समयप्रति इमानदार रहनु तथा निष्पक्ष भएर क्षमताका आधारमा उत्तराधिकारीमा जिम्मेवारी सुम्पनु जस्ता गुण उनीबाट वर्तमान पुस्ताका राजनेताले सिक्नुपर्ने धारणा निबन्धमा व्यक्त भएको छ । 
३. न्याय नपाए गोरखा जानू । हामीले धेरै पहिलेदेखि सुन्दै आएको लोकोक्ति हो, यो । र, यो भनाइ न्यायप्रेमी गोरखाली राजा राम शाहप्रति लक्षित छ । यही न्यायप्रियताका कारण राम शाह जनजनका मनमा जीवित रहे । आज पनि अमर छन् । उनै राम शाहको व्यक्तित्व र कृतित्वमाथि संक्षिप्त तर सूक्ष्म समीक्षा गरिएको निबन्ध हो, राम शाह र प्रतिभा ।  निबन्धमा गोर्खाली राजाहरूको संक्षिप्त वंश वर्णन गर्दै राजा राम शाहको दूरदर्शी तथा न्यायप्रेमी व्यक्तित्वको चित्रण गरिएको छ । तत्कालीन समयमा राम शाहको न्याय वरपरका बाइसी तथा चौबिसी राज्यमा समेत मान्य थियो भन्ने तथ्य निबन्धमा उद्घाटित छ । राम शाहको दरबारमा अनुशासन र मर्यादाको  उच्च कदर थियो । उनी विद्वान् पण्डितहरूको सल्लाहबमोजिम राजकाज सञ्चालन गर्थे साथै न्याय व्यवस्था चुस्त–दुरुस्त थियो । त्यसो भएर नै वरपरका राज्यमा न्याय हराए गोरखा जानू भन्ने भनाइ व्याप्त रहेको हुन सक्ने तर्क निबन्धमा प्रस्तुत छ । राम शाहको पालाका कतिपय प्रचलन अवशेषका रूपमा अहिले पनि नेपाल राज्यमा प्रचलनमा रहेको तर्फ पनि निबन्धमा सूचित गरिएको छ । अतः राजा राम शाहको पालाको सामाजिक रहनसहन, कृषि व्यवस्था, पशुपालन, आर्थिक अवस्था, शिक्षा नीति, कूटनीति तथा राजनीति जस्ता विविध विषयमाथि निबन्धमा प्रकाश पारिएको छ ।

४. तुलनात्मक रूपमा लामो अवधि राजकाज चलाए पनि पृथ्वीपति शाहको काँतर स्वभावका कारण उनको शासनकालमा राज्यले केही भूभाग गुमाउनुपरेको थियो । तर, गोरखाली जनताको अदम्य साहसले फिर्ता भयो । त्यसको केही समयपश्चात्् पुनः बाइसी चौबिसी राज्य उठाएर लमजुङले गोरखामाथि आक्रमण गरी लिगलिगकोट हत्यायो । यो पराजयले हतास भई जोगी बन्न लागेका पृथ्वीपतिलाई छोरा रणदुल्लभले हौसला प्रदान गरे । आफ्नो कुटिल नीति र चातुर्यले रणदुल्लभले मझुवागढी किल्ला फिर्ता लिन सफल भए । रणदुल्लभको यही रणकौशलको गाथा रणकुशल रणदुल्लभ निबन्धमा आएको छ । मुगल सम्राट्ले मकवानपुरमाथि धावा बोल्न खोज्दा मकवानपुरको आग्रहमा रणदुल्लभले सहयोग गरे र बहादुरीपूर्वक मुगललाई परास्त गरे । यीलगायतका घटनाले दरबारमा आनोभन्दा भाइको प्रशंसा बढी सुनेर हतप्रभ भएका युवराज वीरभद्रको मनमा विरोधीहरूले बाबु र भाइप्रति अविश्वास पैदा गराइदिए । रणदुल्लभ शाहले विश्वस्त बनाउन खोज्दा पनि वीरभद्रमा आशंका निरुपण भएन । अन्ततः रणदुल्लभले प्राण नै त्यागेपछि भने वीरभद्रलाई पश्चात्ताप भएको इतिहासप्रसिद्ध घटनालाई निबन्धले उठाएको छ ।

५. विश्व इतिहासको विभिन्न कालखण्डमा युगपुरुषहरूको जन्म हुने गरेको छ । पृथ्वीनारायण शाह यस्तै एक युगपुरुष हुन् । युद्धका लागि शस्त्रशक्तिका अतिरिक्त उत्साहशक्ति पनि आवश्यक हुन्छ भन्दै उनको दिग्विजयको गाथा पृथ्वीनारायणको मूल्य निबन्धमा प्रस्तुत गरिएको छ । पृथ्वीनारायण शाहले नेपालविजय गर्नुपूर्व नेपालको सीमा कहिले फैलिने र कहिले खुम्चिने अस्थिर प्रकृतिको थियो । वास्तवमै पृथ्वीनारायण जस्ता ओजस्वी र महङ्खवाकाङ्क्षी युगपुरुष नजन्मिएका भए नेपाल आजको स्थितिमा रहने थिएन । यस अर्थमा पृथ्वीनारायण चिरस्मरणीय छन् । यस भूतलमा नेपाल र नेपालीको अस्तित्व रहँदासम्म उनको नाउँ नेपालसित अभिन्न रहनेछ भनी निबन्धमा उनको उच्च मूल्याङ्कन गरिएको छ । साथै नेपालका केही ऐतिहासिक सन्दर्भहरूलाई शास्त्रोक्तिको प्रमाणटीकाका माध्यमबाट पुष्टि गर्न खोजिएको छ । प्राचीन भारतवर्षको सभ्यता तथा समकालीन अन्य नागर सभ्यताहरूको तथ्यपरक तार्किक वर्णन पनि निबन्धमा आएको छ । राज्य धार्मिक संहितामा चल्ने गरेका दृष्टान्तहरू उल्लेख छन् । बेख, बिर्ता तथा किपटको प्रसङ्ग, जोगी तथा गाइनेको प्रचलन, जनभावना तथा रीतिरिवाज वा सांस्कृतिक परम्परा आदिलाई मान्यता जस्ता विषयले तत्कालीन राज्यनीतिको सङ्केत गर्छ । विभिन्न पौराणिक दृष्टान्तहरू उल्लेख गर्दै रामचन्द्रको वनवास र लङ्काविजयलाई आर्य सभ्यताको विस्तारका रूपमा चर्चा गरिएको छ ।

६. नेपालका राष्ट्रिय विभूति तथा क्रान्तिका अमर नायक अमरसिंह थापाको जन्म विसं १८०८ मा भएको थियो । पिताले युद्धमा वीरगति प्राप्त गरेपछि उनी १२ वर्षकै उमेरमा पृथ्वीनारायण शाहको सेनामा भर्ती भएका थिए । उनकै शिक्षादीक्षामा हुर्किएका अमरसिंहले नेपालको एकीकरण अभियानलाई महङ्खवपूर्ण टेवा दिए । उनै अमरसिंहको मूल्याङ्कन अवमूल्यनमा परेका अमरसिंह निबन्धमा गरिएको छ । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने उनी जस्ता देशभक्त सपुतले कहिल्यै सम्मान पाएको देखिँदैन, विपरीत अपमानजनक अवस्था भुक्तमान गर्नुपरेको छ । चाहे भीम मल्ल हुन् वा भीमसेन थापा सबैको नियति दुःखान्तक नै रह्यो । बडाकाजीको उपाधिले विभूषित अमरसिंह थापाले पनि सुगौली सन्धिपछि यस्तै परिस्थितिको सामना गर्नुप¥यो । तथापि उनीहरू राष्ट्रियताप्रति कहिल्यै कृतघ्न भएनन् । अमरसिंह जस्ता महान्् सपुतको इतिहासबाट अहिलेको पुस्ताले पनि प्रेरणा लिनुपर्नेमा योगदानकै अवमूल्यन भएकोप्रति निबन्धकारले चिन्ता प्रकट गरेका छन् । नेपालको इतिहासले विगतका बहादुर योद्धालाई बिर्सिएकोमा निबन्धकारलाई दुःख लागेको छ । विश्वमा नेपालीको पौरख देखाएर नेपालको गौरव बढाउन सक्षम अमरसिंहको योगदानलाई अर्का बहादुर योद्धा बहादुर शाहले समेत कदर गर्न नसकेकामा निबन्धकारलाई झनै दुःख लागेको छ । वास्तवमै आज हामी लज्जास्पद क्षणमा बाँचिरहेका छौँ । किनभने आज हामीले न अमरसिंह जस्ता हस्तीहरूको इतिहास र योगदानको समुचित मूल्याङ्न गर्न सकेका छौँ न राष्ट्रिय गौरवलाई विश्वसामु चिनाउन सकेका छौँ ।

७. भानुभक्त नेपाली भाषाका आदिकवि हुन्, आदिकवि होइनन् पनि । भानुभक्तको आदिकवित्वको मूल्याङ्कन गर्ने पहिलो व्यक्ति चाहिँ मोतीराम हुन् । भानुभक्तको जन्मपूर्वका कविताका नमुना प्राप्त हुनुले भानुभक्तको आदिकवित्वमाथि प्रश्न पनि उठेका छन् । फेरि नेपाली जनजिभ्रोमा भिजेका र साहित्यिक योगदानका हिसाबले एउटा युगकै प्रतिनिधि पात्र भानु आदिकवि पनि हुन् । उनको आदिकवित्वलाई शाब्दिक अर्थमा होइन, ध्वन्यात्मक अर्थमा बुझ्नुपर्ने सङ्केत मोतीरामकै छ । भानु नेपालीका जातीय कवि हुन् । जहाँ नेपाली जाति छन् त्यहाँ भानु पनि छन् । तर, राष्ट्रिय विभूति भानुलाई नेपाली भाषिक, सामाजिक र सांस्कृतिक एकीकरणका संवाहकका रूपमा आदर्शीकृत गरी आनो स्वार्थको डम्फु बजाउनेप्रति तीव्र आक्रोश पोख्दै यो एकाङ्गी दृष्टिभन्दा माथिबाट भानुभक्तको पुनर्मूल्याङ्कन गरिनुपर्ने आवाज फेरि भानुकै चर्चा निबन्धमा उठाइएको छ । गिरीले नेपालको एकीकरणपूर्व नेपाली भाषाको प्रचलन क्षेत्री, दशनामी जोगी र दलित बीच मात्र थियो भनेका छन् । मातृभाषी जनजातिबाहेक अन्य जाति जस्तै ब्राह्मणसमेतको मातृभाषा पनि नेपाली थियो कि ? किनभने लौकिक संस्कृतबाट प्राकृत हुँदै खस बोलीमा आइपुग्दा नेपाली भाषालाई निश्चित जातिमा सीमित गर्नु कति तार्किक होला ? यो अनुसन्धेय विषय हुन सक्छ । सत्यको आधार तथ्यबाट खोज्नुपर्छ भन्ने भनाइसित सहमत हुँदै थप सत्य बाहिरियून् भन्न चाहन्छु । गिरीले घाँसी र भानुभक्तको सन्दर्भ जोडेका छन् । मोतीरामले बनारसमा देखेको घाँसीलाई भानुभक्तको कीर्तिसित जोडे भन्ने गिरीको तर्क छ । दासप्रथा अस्तित्वमा रहेको नेपाली समाजमा कतै दासी घाँसीको कीर्ति पो हो कि घाँसीकुवा ? यता पनि अनुसन्धान हुनु जरुरी छ ।

८. देश र जनताका लागि आफ्नो प्राण उत्सर्ग गर्ने अर्थात् सहादत प्राप्त गर्ने व्यक्ति नै शहीद हो । सन् १८७६ मा क्रूर तथा निरङ्कुश शासक जङ्गबहादुरका विरुद्धमा विद्रोहको उद्घोष गरेका लखन थापा नेपालका अमर शहीद हुन् । उनलाई सम्बत् १९३३ फाल्गुन २ गते खिरीको रूखमा झुन्ड्याएर निर्मम ढङ्गले मारिएको थियो । उनै प्रथम शहीद लखन थापाको सामाजिक योगदानको मूल्याङ्कन गरिएको निबन्ध हो, अमर शहीद लखन थापा । यस निबन्धमा गिरीले लखन थापाको बाल्यकालीन अभिप्रेरणा, युवाकालको चेतना र प्रौढ चिन्तनको चर्चा गर्दै म्लेक्ष्य जातिको चाटुकारिता गरेरै आफ्नो शासन सत्ता टिकाउन लागिपरेका जङ्गबहादुरको दुष्कृतिको पर्दाफास गरेका छन् । र, त्यस दुष्कृतिका विरुद्धमा सचेतना जगाउँदै हिँडेका लखन थापाप्रति उच्च सम्मान व्यक्त गरेका छन् । सनातनी हिन्दु परम्परामा ऐँजेरुका रूपमा पलाएका अन्धविश्वासी प्रवृत्तिका विरुद्धमा जोसमनी सन्त सम्प्रदायबाट दीक्षित लखन थापाले चलाएको जागरण अभियान स्तुत्य छ ।

९. लोकजीवनको अभिव्यक्ति नै लोकसाहित्य हो र लोकसाहित्य नै मानवजातिको वास्तविक साहित्य हो । तसर्थ लोकसाहित्यमा लोक वा जगत््को जीवन प्रतिबिम्बित भएको हुन्छ । भारतीय लोकसाहित्यको सङ्कलन र संवद्र्धनमा जीवन उत्सर्ग गरेका साधक देवेन्द्र सत्यार्थीको योगदानको मूल्याङ्कन गरिएको निबन्ध हो, व्यक्ति र राष्ट्र । लोकभाकाको सङ्कलन र प्रवद्र्धन कार्यमा यायावरझैँ जीवन व्यतीत गरेका सत्यार्थी वास्तवमा व्यक्ति होइनन् राष्ट्र हुन् । किनभने, राष्ट्रको परिभाषा केबल भूगोल र राजनीति मात्रै होइन । हुँदै होइन । राष्ट्र त जनताको भावनाद्वारा निस्सृत अलौकिक अनुभूति हो । अतः लोकगीतको सङ्कलनका क्रममा सत्यार्थीले भोगेका यस्तै अनेकौँ सङ्घर्षका कथा गिरीले यस निबन्धमा उल्लेख गरेका छन् । 

१०. निस्वार्थ भावले देश र जनताको सेवा गर्ने व्यक्ति नै वास्तवमा महान्् सेनानी हो । यस्तै महान्् सेनानी पुष्करनाथ उप्रेतीको मूल्याङ्कन गरिएको निबन्ध हो, महान्् सेनानी पुष्करनाथ उप्रेती । नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुष्करनाथको योगदान अतुलनीय छ । वर्तमानमा हामीले उपभोग गरिरहेका कतिपय मौलिक हक र अधिकारप्राप्तिका लागि पुष्करनाथहरूको भूमिका रहेको कुरा यथार्थ हो । यसलाई वर्तमान पुस्ताले भुलिरहेको छ । यही यथार्थको पुनस्मरण गिरीले यस निबन्धमा गरेका छन् । तत्कालीन अवस्थामा जहानिया राणाशाहीका विरुद्धमा जनतामा चेतना छर्ने कार्य सहज थिएन । आफू चाहिँ यही असहज बाटोमा हिँडेर पनि देशलाई सहज मार्ग देखाउन समर्थ व्यक्तिका रूपमा पुष्करनाथको मूल्याङ्कन गरिएको छ । पुष्करनाथको योगदान केलाउने क्रममा गिरीले वर्तमानको राजनीति र राजनेताको चरित्रमाथि सटिक समीक्षासमेत गरेका छन् । महान्् सेनानी पुष्करनाथ उप्रेतीका विषयमा अर्का प्रजातन्त्रका सेनानी धर्मदेव पन्तद्वारा लिखित महान्् सेनानी पुष्करनाथ उप्रेती पुस्तकको समीक्षा गर्दै पुष्करनाथको योगदानको कदर गर्न सक्नु यस निबन्धको प्राप्ति हो । 

११. कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिका आदर्श पुरुष हुन् ।  सङ्क्रमणकालीन नेपाली राजनीतिलाई सही दिशामा मार्गदर्शन गर्न भट्टराईले खेलेको भूमिका उल्लेखनीय मानिन्छ । नेपाली राजनीतिमा त्यागी राजनेता भएकाले उनी सन्तका रूपमा चिनिन्छन् । प्रधानमन्त्री निवासबाट फर्कदा सानो टिनको बाकस, हातमा माटाको सुराइ र पुरानो छाता लिएर बाहिरिएका भट्टराईको बिम्बचित्र नेपाली राजनीतिमा एउटा अनुपम आदर्श बनेर अङ्कित भएको छ । उनै शालीन सन्त राजनेता कृष्णप्रसाद भट्टराईको मूल्याङ्कन गरिएको निबन्ध हो, सन्तको मूल्य । पार्टीभित्र उनले खेलेको समन्वयकारी भूमिकाको निबन्धमा प्रशंसा गरिएको छ । वास्तवमा राजनीति भनेको सेवा हो । राजनीति सत्य र निष्ठामा चल्नुपर्छ तर विपरीत आजको राजनीति छलकपट र प्रपञ्चभित्र बाँचेको छ । अहिले राजनीति कमाउ पेसा वा व्यवसाय भएको छ । यो विषम राजनीतिक वातावरणमा कृष्णप्रसाद भट्टराईजस्ता स्वच्छ छवि भएका त्यागी र निष्ठावान् राजनेताको सही मूल्याङ्कन हुन नसकेको तर्फ निबन्धले इङ्गित गरेको छ । उनले सदैव निष्ठाको राजनीति गरे तर उनीमाथि घातअन्तर्घातका अनगिन्ती शृङ्खला उनकै जीवनकालमा उनकै पार्टीभित्रबाट भएको तीतो यथार्थ हो । नेपाललाई भारतीय प्रभावबाट मुक्त राख्ने सपना देखेका र तद्अनुकूल कार्यसमेत गरेकाले पनि अदृश्य रूपमा उनीमाथि यस्ता अनेकौँ घातप्रतिघातका शृङ्खला चलेको निष्कर्ष निबन्धमा प्रस्तुत गरिएको छ । समुन्नत नेपालको सपना देख्ने भट्टराईको मेलम्ची खानेपानी आयोजनाको सपना आज आएर बल्ल यथार्थउन्मुख बन्न पुगेको छ ।

१२. नेपाली नाट्य साहित्यका शीर्ष पुरुष बालकृष्ण सम नेपालका नाट्यसम्राट् हुन् । उनी नेपाली सेक्सपियरका रूपमा पनि परिचित छन् । उनै साहित्यका साधक बालकृष्ण समको साहित्यिक मूल्याङ्कन गरिएको निबन्ध हो, सम र साहित्य । सम साहित्यमा कोमलता र मानवताका प्रतीक हुन् । तर, समालोचकहरूले  उनको लेखनलाई दुरुह, कठोर रसविहीन भनी पाठकको मनबाट विमुख पार्न खोजेको अनुभूति गिरीको रहेको छ । त्यसैले  उनले  समग्रमा समको साहित्यले न्याय नपाएको मूल्याङ्कन गरेका छन् । यद्यपि नेपाली साहित्यको शीर्षस्थ स्थानमा आरुढ सम र उनका साहित्यको समुचित मूल्याङ्कन नेपाली पाठकले गरेकै छन् र गर्ने पनि छन् । उनका रचनाहरू विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यपुस्तकमा समावेश भएका छन् । यो पनि उनका कृतिको उचित मूल्याङ्कन नै हो भन्न सकिन्छ । तर, उनको प्रतिभाको सीमा यति मात्र चाहिँ अवश्य होइन । नेपाली नाटकलाई दरबारिया रङ्गमञ्चबाट जनताको घरदैलोसम्म पु¥याउने श्रेय उनैलाई जान्छ । साहित्यमा ज्ञान र विज्ञानको समन्वय उनैले गरेका हुन् । यसअर्थमा उनको दर्शन अनुकरणीय छ ।
१३. नेपालको इतिहासलाई हेर्ने हो भने जंगबहादुरले आरम्भ गरेको जहानियाँ क्रूर शासनव्यवस्था १०४ वर्षसम्म चलेको देखिन्छ । तथापि यस शासन व्यवस्थाका विरुद्धमा प्रारम्भिक चरणदेखि नै विभिन्न गतिविधि देखिएकै हुन् । गिरीले भने जस्तै ती गतिविधि कि सत्ता प्राप्तिका लागि कि कुशासनका विरुद्ध सुशासन प्राप्तिका लागि नै गरिएका थिए । केही महङ्खवाकाङ्क्षी भाइभारदार तथा सत्तासुखबाट विमुख रहनपुगेका सत्ताका उत्तराधिकारीहरूले राज्यसत्ता प्राप्तिका लागि दृश्य अदृश्य राज्य विप्लव गरेका थिए भने केही मातृभूमिलाई एकतन्त्रीय जहानियाँ शासनबाट मुक्त गरी देशमा जनमुखी प्रजातान्त्रिक शासनव्यवस्था प्राप्तिका लागि सत्य तथा त्यागी साहित्यसर्जक, समाजसेवी एवम् ऊर्जाशील युवा वर्ग राणाविरोधी अभियानमा संलग्न भएका देखिन्छन् । राणा शासन विरोधी अभियानमा आफूलाई समाहित गरेर  हाँसी हाँसी प्राण उत्सर्ग गर्ने नेपाल आमाका महान् सपुतमध्येका एक हुन्, गंगालाल श्रेष्ठ । उनै निष्ठाका प्रतीक शहीद गंगालालप्रतिको अभिव्यक्ति एक अभिव्यक्ति ः शहीद गंगालाल शीर्षक निबन्धमा व्यक्त भएको छ । निबन्धमा राणा शासनका विरुद्धमा भएका अनेकौँ प्रयास र तिनका विरुद्धमा शासकले चालेका क्रूरतम कदमको वस्तुगत चर्चा गरिएको छ । र, केन्द्रमा रहेका छन्, शहीद गंगालाल श्रेष्ठ । गिरीले  गंगालाललाई आफ्नो युगको प्रतिनिधित्व गर्ने नेपाल आमाका सपुतका रूपमा चित्रण गरेका छन् । तथापि श्रेष्ठले बाबुको करकापमा  प्रधानमन्त्री जुद्धशमशेरसामु बिन्तीपत्र पेस गरी एकपटक माफी पाएका र अर्कोपटक समेत उनलाई फकाईफुल्याई माफी माग्न लगाइने हो कि भन्नृ संशयले दशरथ चन्दले अन्तिम इच्छा नै सँगै मर्न पाऔँ भनेपछि उनीहरूलाई शोभाभगवतीमा एकसाथ मृत्युदण्ड दिइएको सन्दर्भ उल्लेख गरेका छन् । सायद नरशमशेर गंगालालप्रति सहानुभूतिशील थिए तसर्थ माफी मागेमा उनलाई नमारी कारावास तोक्ने निर्णयसमेत रहेको विषय निबन्धमा उल्लेख गरिएको छ ।

१४. पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता हुन्, मंगलकुमार नेपाल । वास्तवमा मंगलकुमार नेपालको परिचय यति मात्र भने होइन । हुँदै होइन । उनी हुन्,  रौतहट गौर निवासी आदरणीय पण्डित, उदाहरणीय समाजसेवी, एक कुशल शिक्षक, तथा पौरस्त्य दर्शनका साहित्य शिल्पी । उनै पण्डित मंगलकुमार नेपालको बहुविध व्यक्तित्वमाथि चर्चा गरिएको निबन्ध हो, केही थाहा छैन । पूर्वप्रधानमन्त्रीका पिता भएकै कारणले उनका कतिपय व्यक्तित्व ओझेल परे । दुनियाँले उनलाई शीर्ष नेता जन्माउने पिताका रूपमा मात्र चिन्न पायो । वास्तवमा उनको साहित्यिक व्यक्तित्वको विमर्श साहित्यिक वृत्तमा चल्नै पाएन, राजनीतिको केन्द्रीयतामा सीमित भयो । कारण, यही विमर्शका माध्यमबाट माधवकुमार नेपालमा चाकरी पु¥याउने र आफ्नो पहुँच विस्तार गर्नेहरूको होडबाजी पनि हुन सक्छ । मंगलकुमार नेपालको स्मृतिग्रन्थ प्रकाशनका सन्दर्भमा पनि यस्तै भएको छ । स्मृतिग्रन्थमा उनको वास्तविक व्यक्तित्व मुखरित हुन पाएको छैन । सामाजिक अभियन्ता, उनलाई नजिकबाट जानेबुझेका तथा  साहित्यिक समालोचकहरूले उनको व्यक्तित्वमाथि प्रकाश पारेर लेखिएका लेखरचनाहरू स्मृतिग्रन्थमा प्रकाशन हुन सकेका छैनन् । केवल राजनीतिक नेताकार्यकर्ताहरूले  केवल रीत पु¥याउन मात्र स्मृतिलेख तयार पारेको देखिन्छ भन्ने जस्ता निष्कर्ष यस निबन्धमा शीतल गिरीले निकालेका छन् । अतः मंगलकुमार नेपालका नाममा प्रकाशित भएको स्मृतिग्रन्थ नै अपुष्ट र अपुरो रहेको चर्चा  निबन्धमा गरिएको छ । यस्तै स्मृतिग्रन्थको सार्वजनिकीकरण समारोहमा पनि साहित्यिक व्यक्तित्वको उपस्थितिभन्दा राजनीतिक नेतृत्वको झुन्ड बाक्लो रहेको तथ्य निबन्धमा सार्वजनिक भएको छ । अन्ततः व्यक्तित्वअनुरूप स्मृतिग्रन्थमा मंगलकुमार नेपालको समग्र व्यक्तिचित्र चित्रित हुन नसकेको यथार्थ नै निबन्धको सार हो ।

१५. पारिजात नेपाली साहित्याकाशकी सर्वोत्कृष्ट नारी प्रतिभा हुन् । यसमा कुनै दुविधा छैन । पारिजात र साहित्य निबन्धमा पारिजातको पुख्र्यौली विवरणदेखि लिएर साहित्यिक कृतिको मूल्यनिर्धारणसमेत गरिएको छ । यसै सिलसिलामा सन्दर्भवश गिरीले जीवन र मृत्युसम्बन्धी आफ्ना दार्शनिक दृष्टिकोण विस्तारमा व्याख्या गरेका छन् । र्युमोटोइड क्रोनिक जस्तो जटिल रोगबाट आक्रान्त भएर पनि पारिजातले नेपाली साहित्यमा जुन किसिमको योगदान गर्न सकिन् त्यो वास्तवमै उच्च छ । पारिजात नेपाली साहित्यकी अब्बल कवि हुन् । उनका कथा अझै सबल छन्, झन् सबल छ उनको उपन्यासकारिता । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत््का विशिष्ट विद्वान््हरूको प्रभाव ग्रहण गर्दै नेपाली साहित्यमा आफ्नो ऊर्जाशील मस्तिष्क खर्चिएकी पारिजातको सुवास बहुसङ्ख्यक नेपालीको मस्तिष्कमा छाएको छ । पारिजातको कृतिले मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा स्थान पाउनुले उनी अन्तर्राष्ट्रिय स्तरकी लेखिका हुन् भन्ने बुझ्न सकिन्छ । साहित्यका बहुविध विधामा कलम चलाए पनि उनको ख्याति आख्यानमा नै रहेको तथ्य गिरीले पनि सार्वजनिक गरेका छन् । प्रारम्भिक कालमा स्वच्छन्दतावादी प्रवृत्ति अनुसरण गरेकी पारिजात क्रमशः विसङ्तिवादी–अस्तित्ववादी हुँदै प्रगतिवादी धारमा गएर समाहित भएकै हुन् । पारिजात समन्वयवादी लेखिका होइनन्, बरु उनले पृथक् धुरी निर्माण गरेको चर्चा गर्दै उनको व्यक्तिगत जीवनभन्दा साहित्यिक र सामाजिक जीवन बढी सबल देखिएको निष्कर्ष निबन्धमा प्रस्तुत चएको छ । 

१६. महान्् साहित्यकार हरिभक्त कटुवालको स्मरण गरेर रचना गरिएको निबन्ध हो, महान्् साहित्यकार हरिभक्त कटुवाल । वास्तवमा कटुवाललाई बिर्सिएर नेपाली साहित्य अगाडि बढ्नै सक्तैन । उनका अमर गीत नेपाली मनमुटुमा धड्किरहनेछन् भने उनका मुक्तक र कविताले नेपाली मस्तिष्क झङ्कृत भइरहनेछन् । यही झङ्कारले उनले जीवनमा व्यतीत गरेको अभावलाई भुलेर उनकै अभाव महसुस गराउनेछ र उनको अभावपूर्ति पनि गर्नेछ । राजधानीका गल्ली तथा डबलीहरूमा मुक्तक तथा कविता सुनाउँदै जागरणको सन्देश दिने कटुवाल वास्तवमै नेपाली साहित्यका अनुपम साधक हुन् । उनको रक्सी पिउने आदतलाई लिएर धेरैले धेरै टिकाटिप्पणी गरेको भेटिन्छ । निबन्धकार गिरीले समेत प्रकारान्तरले उनको यस आदतप्रति निर्मम प्रहार गरेका छन् । मानिस सामाजिक प्राणी हो, तसर्थ मानिसका वैयक्तिक स्वभावले समाजमा धेरथोर प्रभाव अवश्य पार्छ । तथापि, बाहिरी देखावटी व्यक्तित्वभन्दा शक्तिशाली हुन्छ, ऊ भित्रको नियत र मन । आलिसान महलको उम्दा बैठकमा बसेर, सम्मानको भोकले तड्पिएका कथित आदरणीय भलादमीभन्दा गल्ली तथा भट्टीहरूमा फुलेका भुँइफूल हरिभक्त कटुवालहरू धेरै उच्च छन् । उनको जीवनभोगाइ र आदत कोट्याउनु उनको साहित्यसाधनामाथिको अवमूल्यन हो भन्ने मेरो धारणा छ । यो जिन्दगी खै के जिन्दगी र कवि भूपिले भनेजस्तै जिउनुको यथार्थभन्दा पिउनुको बाध्यता खोज्नु उनको सही मूल्याङ्कन हुनेछ ।

१७. बालकृष्ण पोखरेल र नेपाली भाषा एकअर्काका पर्याय हुन्, पूरक पनि हुन् । भाषिक ज्ञानको प्राज्ञिक उचाइ मापन गर्ने हो भने उनी भाषाको सिङ्गो विश्वविद्यालय हुन्, भीष्मपितामह पनि हुन् । नेपाली भाषाको चिन्तन गर्दागर्दै अस्ताएका उनै भाषाका शिखरपुरुष पोखरेलको भाषिक योगदान स्मरण गर्दै रचिएको निबन्ध हो, बालकृष्ण पोखरेल र भाषा । वास्तवमा झर्रोवादका अभियन्ता पोखरेलले नेपाली भाषालाई संस्कृत, हिन्दी र अङ्ग्रेजीको पछुवा भाषा बन्नबाट जोगाएकै हुन् । यसअर्थमा नेपाली भाषाले उनको गुण तिरेर सक्दैन । कतिपय सन्दर्भमा उनको भाषिक योगदानको चर्चा गर्ने सन्दर्भमा गिरीले निबन्धमा आफ्ना दार्शनिक अभिव्यक्तिलाई सुटुक्क घुसाएका छन् । नेपाली लवज भाषाको ग्राम्य दोषका रूपमा त्यज्य रहने तत्कालीन अवस्थामा दोषमोचन गरेर काव्यिक गुण र माधुर्य प्रदान गराउन सक्नु पोखरेलको महङ्खवपूर्ण प्राप्ति हो । निबन्धमा पोखरेलको बहुविध आयामको उल्लेख गर्दै व्यक्तित्वका विविध पाटाका बारेमा सगर्व चर्चा गरिएको छ । पोख्रेललाई भाषाविद्, अनुवादक, इतिहासविद्, प्राग्ऐतिहासिक विश्लेषक तथा मानवशास्त्रवेत्ताका रूपमा उच्च सम्मान गर्दै उनको वस्तुनिष्ठ मूल्याङ्कन गर्नु निबन्धको उपलब्धि हो ।

१८. गोविन्द भट्ट प्रख्यात माक्र्सवादी चिन्तक तथा सौन्दर्यशास्त्री हुन् । चीन विशेषज्ञका रूपमा चिनिएका निडर तथा यथार्थवादी साहित्यकार समालोचक भट्टको मृत्युपश्चात्् उनलाई गुमाउनुपर्दाको अनुभूति फरासिला गोविन्द दाइ निबन्धमा आएको छ । निबन्धमा उनलाई पहिलोपटक भेटेदेखि जीवनका अन्तिम अन्तिम क्षणसम्मका प्रत्यक्ष तथा परोक्ष साहचार्यको ंस्मरण गरिएको छ । सात सालको प्रजातन्त्रप्राप्तिको आन्दोलनमा गौर आसपासको प्रदर्शनमा भट्टको सहभागिताको चर्चा गरिएको छ । गौरमा शारदा पुस्तकालय (कलाकुञ्ज पस्तकालय)को स्थापना, पुस्तकालयले सञ्चालन गरेका विभिन्न कार्यक्रम, पुस्तकालयका प्राज्ञिक गतिविधिमा भट्टको सक्रियता जस्ता विषय निबन्धमा आएका छन् । त्यस क्षेत्रको शैक्षिक जागरणमा गोविन्द भट्टको भूमिकाको पनि उल्लेख गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका भट्टलाई कलाकुञ्ज पुस्तकालयका तर्फबाट सम्मान गर्ने प्रयत्न गरे पनि स्वास्थ्यका कारण असम्भव रहेको चर्चा छ । व्यक्तिको मृत्यु भए पनि उसका विचार सदा अमर रहने भएकाले भट्ट अमर छन् भन्ने गिरी उनको वैचारिक दर्शनबाट प्रभावित भएको भान हुन्छ । साथै निबन्धमा प्रसंगवश लेखकले आनो मृत्युचिन्तन पनि प्रस्तुत गरेका छन् ।

१९. स्वाभिमान स्रष्टाको सम्पत्ति हो । जीवनमा प्राप्तिकै लागि मरिहत्ते नगरी साधनामा रमाउन खोज्ने थोरै मानिसमध्ये एक हुन्, मनु ब्राजाकी । उनी आफ्नो समयका प्रतिनिधि साधक हुन् । सदैव सिर्जना कर्ममा निष्ठापूर्वक समर्पित भए र त उनी मनु ब्राजाकी भए । उनै मनु ब्राजाकीको साहित्यिक योगदानको मूल्यनिर्धारण गरिएको निबन्ध हो, मनु ब्राजाकी र समय । यस निबन्धमा निबन्धकारले ब्राजाकीको बाह्य व्यक्तित्वदेखि लिएर अन्तः चेतन व्यक्तित्वसमेतको चर्चापरिचर्चा गरेका छन् । साहित्य साधनामा लागेर कमाउने होइन, समाजका लागि त्याग गर्ने हो । र, यही त्यागका नमुना हुन् मनु ब्राजाकी । सरल शैली र रोचक प्रस्तुति ब्राजाकीका पर्याय हुन् । ब्राजाकीका रचनामा युगचेतना प्रतिबिम्बित हुने भएकाले आफ्नो युगलाई चिन्न सफल व्यक्तिका रूपमा ब्राजाकीको समय निर्धारण गरिएको छ । 

२०. जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, वास्तवमा आफ्नो जन्मभूमि व्यक्तिलाई स्वर्गभन्दा पनि प्रिय लाग्छ । जुन भूमिमा व्यक्तिले पहिलोपटक पाइला राख्ने अवसर पायो त्यस भूमिलाई उसले कसरी भुल्न सक्छ ? सायद त्यसैले हो, जन्मस्थललाई स्वर्गसित तुलना गरिएको । वास्तवमा अतुलनीय । गिरीद्वारा आफ्नो जन्मभूमि कञ्चनपुरको बेलौरी र आफूलाई अत्यन्त स्नेह गर्ने सहोदर दिदी तुलसाको स्मरणमा लेखिएको निबन्ध हो, स्नेह । यस निबन्धमा आफ्नै पूर्वस्मृतिको झलक प्रस्तुत गरिएको छ ।  आफ्नो बाल्यकाल, बाल्यकालीन समय व्यतीत गरेको जन्मस्थल र त्यहाँ रहँदा दिदीबाट पाएको आत्मीय स्नेह आदिको भावनात्मक अभिव्यक्ति निबन्धमा पाइन्छ । दिदीकै स्नेहले पढ्न लेख्न सिकेको, दिदीकै आत्मीयताले बिरामीबाट छिट्टै सन्चो भएको तथा परिवारमा आर्थिक सङ्कट आउँदा आफन्तसमेत पराइ बनेका जस्ता अनगिन्ती बाल्यकालीन घटना संस्मरणात्मक शैलीमा अभिव्यक्त भएका छन् । नियतिवश उनै तुलसा दिदीसित  बिछोडिनु पर्दाको पीडा र दिदीको खोजीदेखि लिएर प्रिय दिदीलाई सदाका लागि गुमाउनुपर्दाका अनुभूति निबन्धमा मार्मिक छन् ।

२१. नकुल सिलवाल साहित्यसाधक हुन् अर्थात् साहित्यिक पत्रकार हुन् । सम्बत् २०३९ सालदेखि त्रैमासिक बगरबाट साहित्यिक पत्रकारिता सुरु गरेका सिलवाल साहित्यिक पत्रकारिताका अग्रणी व्यक्तित्व पनि हुन् । औपचारिकता तथा यान्त्रिकताको लक्ष्मणरेखाभन्दा माथि रहेका उनै सिलवालको व्यक्तित्वको समीक्षा गरिएको निबन्ध हो, साहित्यिक पत्रकार अर्थात् नकुल सिलवाल । परिमाणमा होइन गुणमा विश्वास राख्ने सिलवाल जस्ता व्यक्तित्वमा पनि कताकति पलाउन सक्ने राजनीतिक नियुक्तिप्रतिको मोहलाई समेत निबन्धकारले औँल्याइदिएका छन् । समग्रमा साहित्यिक पत्रकार सिलवालको विचार, व्यवहार र साधनाको वस्तुनिष्ठ मूल्याङ्कन गर्न निबन्ध सफल छ । निबन्धमा सिलवाललाई महाकवि देवकोटा शतवार्षिकी सम्मान प्रदान गर्दाको स्मरण पनि आएको छ ।

२२. मोदनाथ प्रश्रित जनवर्गीय कवि हुन् । पञ्चायतकालीन एकदलीय राज्यव्यवस्थाका विरुद्धमा जनाधिकारको आवाज बुलन्द बनाएकाले उनले जेल–नेल भोग्नुपरेको थियो । प्रश्रितले प्रजातान्त्रिक अभियानका र सामाजिक न्यायका लागि पु¥याएको योगदान अतुलनीय छ । उनले आयुर्वेद विज्ञानका क्षेत्रमा हासिल गरेको ज्ञान र क्षमतालाई व्यवहारमा लागु गरे । यी सबै कार्यले उनको राष्ट्रतुल्य व्यक्तित्व निर्माण भएको चर्चा गर्दै गौरको जेलमा बस्दाका अनेकौँ सन्दर्भको रहस्योद्घाटन प्रश्रित र राष्ट्र निबन्धमा गरिएको छ । आफूले आर्जन गरेको ज्ञान मानवहितमा लगाउनुपर्छ भन्ने मानवतावादी दृष्टिकोण राख्ने प्रश्रित वास्तवमै बौद्धिक तथा शालीन व्यक्तित्व हुन् । उनका मानव, देवासुर सङ्ग्राम तथा नारी ः बन्धन र मुक्ति जस्ता कृतिको उच्च मूल्याङ्कन गर्दै गिरीले प्रश्रितलाई आदर्श स्विकारेका छन् । तसर्थ उनका सीमाहरूको अन्वेषण गरिएको छैन । सहयोगी भावनाका प्रश्रित आयुर्वेदिक पद्धतिका उपचारक थिए । साहित्य सिर्जनाका अतिरिक्त उनमा चित्रकलाको पनि राम्रो ज्ञान थियो । बन्दी अवस्थामा रहँदा पनि जेलसुधारलगायतका थुप्रै सामाजिक कार्यले रौतहटका तत्कालीन प्रजिअ कृष्णप्रसाद शर्मा उनीबाट प्रभावित थिए । उनकै नक्साङ्कनमा पञ्चायतकालमै तयार भएको पार्क अहिले पनि रौतहटको सौन्दर्यका रूपमा स्थापित छ । वर्तमानको कुटिल राजनीतिबाट विमुख भएका प्रश्रितका यी र यस्ता अनेकौँ आयामलाई निबन्धकारले खोतलिदिएका छन् । 

२३. परशु प्रधान नेपाली साहित्यका वरिष्ठ तर तुलनात्मक रूपमा उपेक्षित लेखक हुन् । समीक्षकको पूर्वाग्रहकै कारण अतियथार्थवादी शिल्पी प्रधानको योगदानको वस्तुनिष्ठ उत्खनन हुन नसकेको तथ्य परशु प्रधानः अतियथार्थवादी शिल्पकार निबन्धमा औँल्याइएको छ । यस्तो हुनुमा मूलतः दुईवटा कारण देखाइएको छ– १) पिछडिएका वर्गको समस्यालाई कथामा उतार्नु २) व्यथित, विद्रोही र निर्माेही तथा स्नेही नारीचरित्रको वर्णन पनि शालीन र श्लील ढङ्गले गर्नु । शिल्पचेतना तथा उक्ति वैचित्र्यपूर्ण अभिव्यक्तिबाट आजको पुस्ता विमुख हुँदै गरेको सन्दर्भमा नयाँ सोच, नयाँ विचार, नयाँ शैली र नयाँ जोस तथा जागरणका साथ नवसर्जकलाई प्रोत्साहन गर्ने सहृदयी व्यक्तिका रूपमा गिरीले उनको मूल्याङ्कन गरेका छन् । परशु प्रधान साहित्यमा नवीनता रुचाउने व्यक्ति हुन् । कोरा कल्पना नभएर समाजमा घटेका र घट्न सक्ने वास्तविक घटनालाई संवेदनशील भएर व्यक्त गर्न सक्नु प्रधानको कथाशिल्प रहेको कुरामा विमति हुनेछैन । प्रस्तुत निबन्धमा मूलतः प्रधानको भूमिकालेखक व्यक्तित्वको बढी नै खुलेर प्रशंसा गरिएको छ । नयाँ पुस्ताका सशक्त लेखकका कृतिमाथि शक्तिशाली भूमिकालेखनलाई प्रधानको समालोचकीय शिल्पका रूपमा स्विकारिएको देखिन्छ । कथ्यवस्तुलाई शब्दमा समेटेर कथाकथन गर्न सक्नु परशु प्रधानको कथाशिल्पगत चातुर्य हो र यो नै उनको मौलिकता विशेषता पनि हो भन्ने गिरीले प्रधानलाई अतियथार्थवादी कथाशिल्पीका रूपमा चित्रण गरेका छन् । गिरीले प्रधानको साहित्यिक मूल्यनिर्धारण गर्ने क्रममा वर्तमान पुस्तामा देखापरेको शिल्प र मूल्यको तीव्रतर स्खलनप्रति खेद प्रकट गरेका छन् । लगत्तै आशावादी स्वर पनि उरालेका छन् ।

२४. गोपाल अश्क बहुमुखी प्रतिभासम्पन्न साहित्यसाधक हुन् । उनी नेपाली साहित्यका सशक्त साधक त हुँदै हुन् भोजपुरी तथा हिन्दी साहित्यमा पनि उनको राम्रो पकड रहेको देखिन्छ । गोपाल अश्क निबन्धमा निबन्धकारले उनीसितको आफ्नो साहचर्यका अनेकौँ सन्दर्भहरूको रहस्योद्घाटन गरेका छन् । यस निबन्धमा अश्कको पारिवारिक जीवन लालित्यपूर्ण नभएको र त्यसको प्रतिछाया उनका रचनामा परेको सन्दर्भ समेत उल्लेख गरिएको छ । आर्थिक अभावमा पिल्सिएका बेला अश्कले पत्रपत्रिकामा लेख लेख्नु, किताब छपाउनु, अनुवाद गर्नुका अतिरिक्त घोस्ट राइटिङ गरेको तथा शोधप्रबन्ध तयार पारिदिएको जस्ता अन्तरङ्ग प्रसङ्ग निबन्धमा सार्वजनिक भएका छन् । निबन्धमा अश्कको व्यक्ति र व्यक्तित्व दुवैको मूल्याङ्कन गरिएको छ । उनलाई भोजपुरी भाषाको मोतीरामका रूपमा चिनाउन खोजिएका छ । र काव्य, आख्यान, नाटक, अनुसन्धान तथा अनुवाद जस्ता विधामा सफलता पाएका अश्क वाचन तथा गायनकलामा निपुण रहेको निष्कर्ष निकालिएको छ ।

२५. वर्तमानमा त मानिस यान्त्रिक जीवन बाँचिरहेको छ । मानवीय संवेदना तथा सहानुभूति बिस्तारै शुष्क बन्दै गएका छन् । निस्वार्थ सहयोग र सेवाभाव परको कुरा सम्बन्धसमेत स्वार्थले मात्र गाँसिएको देखिन्छ । यस्तो अवस्थामा मातृस्नेहबाट  वञ्चित शिशुले हुर्कन कस्तो वातावरण पाउला ? हामी कल्पनासम्म गर्न सक्छौँ । यी र यस्तै परिवेशमा हुर्किएको छिमेकी फुपू राधा दिदीको टुहुरो पुत्र रमेशको बाल्यकालीन संस्मरण हाँस खोई निबन्धमा व्यक्त भएको छ । आजभन्दा करिब ४०–५० वर्ष पहिलेको समाज, एकातिर बालबिबाह र अर्कातिर अनमेल विवाह । यसले निम्त्याउने जटिलतम समस्याको पोको रमेशका माध्यमबाट गिरीले निबन्धमा फुकाएका छन् । अतः यी प्रतिनिधि पात्र र घटनाबाट गिरीले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका  हुन् । हाँस हराएको र हाँसको खोजी गरेका प्रसङ्ग रोचक छन् ।

अन्त्यमा, शीतल गिरीलाई म आलोचक भन्न रुचाउँछु । स्वस्थ समदर्शी आलोचना उनको धर्म हो । मोतीराम भट्टबाट प्रारम्भ भएको गुणदर्शनमा आधारित आलोचनात्मक प्रवृत्तिबाट हाल पनि कतिपय समीक्षकहरू मुक्त हुन सकेका छैनन् । कृति वा स्रष्टाको गुणानुवर्णनकेन्द्री आलोचना प्रकारान्तरले लेखकको प्रशंसा वा स्तुति हुन पुगेको यथार्थ छिपेको छैन । लेखक पनि अन्तरहृदयदेखि नै आलोचकबाट दोषदर्शन सुन्न चाहँदैन । प्रकारान्तरले प्रशंसा नै चाहन्छ, चाहे उसले जतिसुकै निष्पक्ष आलोचनाको राग अलापोस् । यो मानवीय वृत्ति हो । कतिपय आलोचकहरू लेखकको यही मनोदशाप्रभावी देखिन्छन् । र, थोरबहुत प्रशंसामा नै शब्दहरू खर्चन्छन् । तर, यो प्रवृत्ति गिरीमा हाबी भएको चाहिँ देखिएको छैन । तथापि उनले भानुभक्त र हरिभक्तहरूको मूल्याङ्कनमा जुन निर्मम आलोचना गरेका छन् अन्य केहीप्रति बढी नै सहानुभूति राखेको अनुभव गरेको छु । 

धातुलाई बहुमुल्य देखाउन पित्तललाई सुनको जलप लगाइदिनु हुँदैन । सुनका आफ्नै वैशिष्ट्य छन्, पित्तलका पनि आफ्नै स्वभाव हुन्छन् । अर्थात् सुन सुन नै हो, पित्तल पित्तल नै हो । यस अर्थमा सुनलाई पित्तल र पित्तललाई सुन देखाउनु अनौचित्यपूर्ण हुन जान्छ । समालोचकले यस प्राकृतिक धर्मलाई उल्लङ्घन गर्नुहुँदैन । आना समालोचकीय निबन्धमा गिरीले यस धर्मलाई अनुशरण गर्न खोजेका छन् । उनको लेखनीमा लेखकीय इमानदारिता झल्किन्छ । उनी कुशल स्रष्टा हुन् र इमानदार द्रष्टा पनि हुन् । अनुसन्धानका साधक हुन् र इतिहासका अध्येता पनि हुन् । तसर्थ ऐतिहासिक आलोचनामा तथ्यको सत्यापन उनको लेखनीगत वैशिष्ट्य भएर रहेको छ ।

स्रष्टाको धर्म हो, सिर्जना गर्नु र द्रष्टाको कर्तव्य हो, सिर्जनाको सम्यक् मूल्याङ्कन गरिदिनु । वास्तवमा स्रष्टा नै आफ्नो रचनाको कुशल द्रष्टा पनि हो । यस अर्थमा स्रष्टाभित्र लुकेको द्रष्टाचेतनालाई आफ्ना निबन्धमा गिरीले पस्किएका छन् । सृजनात्मक लेखनीमा पृथक् दर्बिलोपना र समालोचनात्मक लेखनीमा आग्रहहीनता गिरीको निजात्मक विशेषता बन्न पुगेको छ । साथै गुण र दोष दुवैमा समदर्शी भएर पाठपरक समालोचना गर्न खोज्नु गिरीको आलोचनात्मक लेखनीको प्राप्ति हो । आरम्भलाई शुभकामना । प्रत्युत्पन्नमति र प्रत्ययकारिता धनी साहित्यिक समालोचक शीतल गिरीको समुन्नत जीवनको कामना ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ