काठमाडौँ । अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयको नयाँ अनुसन्धानले जलवायु परिवर्तन र मानवीय गतिविधिहरूका कारण तटीय तालहरू नुनिलो बन्दै गएको देखाएको छ। यसले त्यहाँको जैविक विविधता र पारिस्थितिक प्रणालीलाई गम्भीर खतरा पुर्याइरहेको अध्ययनले चेतावनी दिएको छ।
तटीय तालहरू महत्वपूर्ण पारिस्थितिक प्रणाली हुन्। यिनीहरूले माछापालनलाई सहयोग गर्छन्, आँधीबेहरीबाट तटीय क्षेत्रको सुरक्षा गर्छन्। साथै माछा, क्रस्टेशियन र बसाइँ सर्ने चराहरूको लागि यो महत्वपूर्ण बासस्थान मानिन्छ। यी तालहरूको उत्पादकत्व पोषक तत्वहरूको चक्रण र जैविक विविधतालाई समर्थन गर्ने सूक्ष्मजीवहरूको विविध समुदायमा निर्भर हुन्छ।
तर, बढ्दो तापक्रम, लामो खडेरी, कम वर्षा र समुद्री सतहको वृद्धि जस्ता जलवायु परिवर्तनका असरहरूसँगै पानीको व्यवस्थापनमा परिवर्तन, शहरी विकास र भूजलको कमी जस्ता मानवीय कारणहरूले तालहरूलाई अत्यधिक नुनिलोपन (हाइपरसालिनिटी) तर्फ धकेलिरहेको छ।
एडिलेड विश्वविद्यालयका क्रिस केनेलीका अनुसार यो परिवर्तनले नुनिलो पानीमा फस्टाउने शैवाल र सूक्ष्मजीवहरूको प्रभुत्व बढाउँछ। यसले कार्बन चक्र, पोषक तत्वहरूको व्यवस्थापन र हरितगृह ग्यास उत्सर्जन जस्ता महत्वपूर्ण प्रक्रियाहरूमा बाधा पुर्याउँछ। अध्ययनले तटीय तालहरूको संरक्षणका लागि तत्काल कदम चाल्न आवश्यक रहेकोमा जोड दिएको छ।