टेष्टबाट संन्यास लिए कोहलीले, बीसीसीआईले भन्यो –टेष्टको एक युग समाप्त भयो
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
744
Shares
काठमाडौँ । भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टेष्ट क्रिकेटबाट संन्यास लिएका छन् । कोहलीले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेर सो जानकारी दिएका हुन् ।
उनले गत शनिबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई संन्यास लिन चाहेको बताएका थिए । तर बीसीसीआईले उनलाई फकाउने प्रयास गरेको थियो ।
इन्स्टामा उनले लेखेका छन्, ‘टेष्ट क्रिकेटले मेरो परीक्षा लियो, मलाई आकार दियो, त्यो पाठ सिकायो जुन मलाई जीवनभर याद रहने छ ।’
उनले आइतबार बीसीसीआईका एक अधिकारीसँग छलफलसमेत गरेका थिए । गत डिसेम्बर–जनवरीमा अष्ट्रेलियामा भएको बोर्डर–गावस्कर श्रृंखलामा कोहलीको प्रदर्शन खराब रहेको थियो । उनले श्रृंखलामा २३.७५ को औसतमा रन बनाएका थिए । उनले ९ इनिङ्समा मात्रै १९० रन बनाएका थिए ।
विराटले १२३ टेष्ट खेले । जसमा ३० शतक र ३१ अर्धशतक सामेल छन् । तीमध्ये सात दोहोरो शतकसमेत रहेको छ ।
उनी सन् २०१७ र २०१८ मा टेष्ट प्लेयर अफ द इयर चुनिएका थिए ।
उनले संन्यासको घोषणा गरेपछि बीसीसीआईले धन्यवाद लेखेको छ । बीसीसीआईले टेष्ट क्रिकेटमा एक युग समाप्त भएकोसमेत लेखेको छ ।