काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा शनिबार भएको खेलमा रो्यल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले चेन्नई सुपर किंग्स (सीएसके) लाई २ रनले पराजित गरेको थियो । चिन्नास्वामी स्टेडियममा विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रन बनाउन सफल भए ।
उनी टिमबाट टी–२० मा ३०० छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कोहलीले आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका छन् ।
आरसीबीका रोमारियो शेफर्डले १४ बलमा अर्धशतक बनाएका थिए । उनले खलिल अहमदको एक ओभरमा ३३ रन पनि दिए । यो कुनै पनि सीएसके बलरको सबैभन्दा महँगो ओभर थियो । कोहली आईपीएलमा आठौँ पटक एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो खेलाडीसमेत बनेका छन् ।
चेन्नईविरुद्ध विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रनको इनिङ्स खेलेका थिए । उनले इनिङ्समा पहिलो छक्का प्रहार गर्ने बित्तिकै आरसीबीका लागि ३०० छक्का पूरा गरेका हुन् । उनी एउटै फ्रेन्चाइजीबाट टी २० मा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय क्रिकेटरसमेत बनेका छन् ।
कोहलीपछि क्रिस गेलले आरसीबीका लागि ९१ खेलमा २६३ छक्का प्रहार गरेका थिए ।