कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उहाँले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी गरेका छन् । पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।
उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ । फागुनको पहिलो हप्ता रोपेको मकै जेठमा उत्पादन लिन सकिने किसान चौधरीले बताए । हरियो मकै खेतबारीबाट नै रु १० देखि १५ सम्ममा बिक्री हुने गरेको छ । हरियो बिक्री नभएको मकै पाकेपछि बिक्री गरिँदै आएको उनको भनाइ छ ।
मकैका बोट निश्चित दूरीमा लगाइने भएकाले गोडमेल गर्न सहज हुनुका साथै सिँचाइ, गोडमेल गर्न, मलखाद छर्न सहज हुने गरेको किसान बताउँछन् । झारपात व्यवस्थापनसँगै रोग कीरा रोकथामका लागि कृषि प्राविधिकसँग किसानले सल्लाह लिने गरेका छन् । वसन्ते मकैखेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएकाले बढी जग्गामा खेती गर्न किसान उत्साहित छन् ।