शिक्षक आन्दोलन फिर्ता, विद्यालय सञ्चालन गर्ने सहमति, १२ को परीक्षा २१ गतेदेखि नै
सरकारसँगको सहमतिपछि अहिलेलाई आन्दोलन स्थगित गरिएको तर असार १५ भित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
866
Shares
काठमाडौँ । सरकार र राष्ट्रिय शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घबीच बुधबार भएको वार्तापछि नौ बुँदे सहमति भएको हो ।
ती नौँबुदे सहमतिमा शिक्षक, विद्यालय कर्मचारीलाई निजामती अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेलगायत रहेका छन् ।
उक्त सहमतिलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार बिहीबारदेखि शिक्षक महासङ्घले गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ ।
त्यसैगरी कक्षा १२ को परीक्षा पनि तोकिएकै मिति बैशाख २१ गतेदेखि हुने भएको छ । योसँगै गत चैत २० गतेदेखि शिक्षक महासंघले थालेको आन्दोलन पनि टुंगिएको छ ।
यसैबीच नेपाल शिक्षक महासंघले तोकिएको समयमा शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँगको सहमतिपछि अहिलेलाई आन्दोलन स्थगित गरिएको तर असार १५ भित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने बताएका छन् ।
उनका अनुसार संसदीय समितिका सभापति र सत्ता साझेदार दलका प्रमुख सचेतकको लिखित प्रतिबद्धता तथा मन्त्रिपरिषद्को निर्णयपछि शिक्षक आन्दोलन स्थगित गरिएको हो ।