arrow

नेताज्यूहरू धोबीबाट समाजवाद सिक्ने कि ! 

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ वैशाख १३ शनिबार
badri-ojha-82-1-13.jpg

गतसाल एकजना कृषि इन्जिनियर चीन गएछन् । त्यहाँ अढाई महिना बसे । तालिममा गएकाले आफ्नो पढाइ चालु गरे । यस क्रममा एक दिन उनीहरूको समूहलाई तालिम दिन एक जना नेता आएछन् ।  

ती प्रशिक्षक नेता त थिए नै तर त्यो कक्षामा भने उनी व्यवसायीका नाताले आएका रहेछन् । छलफलका क्रममा उनले भने, ‘म पाँच हजार हेक्टर जमीनमा माछापालन गर्छु ।’ नेपाली मान्छेहरू हेरेका हेर्यै । 

यहाँका नेता त जीवनभर राजनीति गर्छन् । अरुलाई अर्ति दिन्छन् । त्यही अर्ति उनीहरू आफैंमा भने रत्तिभर लागू भएको देखिँदैन । किसान संघसंगठनमा लाग्नेहरू गमलामा पनि खेती गर्दैनन् । मजदुरका नेताहरू दिनभर राजनीतिक कर्ममा मजदुरी गर्छन् । अनि मजदुर नेताको नाममा हुने खर्चबर्च, लेनदेन गर्छन् । यस्तो चलन देखेर हुर्केका ती इन्जिनियरलाई अचम्म लाग्नु स्वभाविकै हो । 

उनले अझ सोधेछन् । हैन, हाम्रोमा त नेताहरू साह्रै व्यस्त हुन्छन् । तपाईं कसरी समय मिलाउनुहुन्छ । उनले जवाफ दिए, ‘मेरो पार्टीले मलाई यो सहरलाई  आवश्यक पर्ने माछा उत्पादन गर्ने जिम्मेवारी दिएको छ । जुन दिन मैले त्यो जिम्मेवारी पूरा गर्न सक्दिन, त्यसैदिन म पार्टीको नेताबाट बर्खास्त हुनेछु र मेरो ठाउँमा अर्कै मानिस वहाल हुन्छ । त्यसैले आफ्नो पद धान्न पनि मैले वार्षिक तोकिएको परिमाणमा माछा उत्पादन गर्नैपर्छ ।

इन्जिनियर हुन् बुद्धिनाथ तिम्सिना । जो उदयपुरको बेलाका नगरपालिकामा पाँच वर्ष कृषि इन्जिनियरका रुपमा सेवा गरेर जागिर छाडेका मानिस । सरकारी जागिरप्रतिको मोह पाँचै वर्षमा भंग भएपछि अहिले स्थानीय सरकारसँग मिलेर कृषिसम्बन्धी नीति निर्माण, पूर्वाधार निर्माण, सिँचाइ तथा मेसिनरी आदिका क्षेत्रमा परामर्श सेवा प्रदान गर्दै आएका छन् । 

कृषि रणनीति तयार पार्ने क्रममा पुगियो, रामेछापको लिखू तामाकोशी गाउँपालिका । सदरमुकामबाट २७ किलोमिटरको दूरीमा रहेको पालिका सदरमुकाम धोबी बजार पुग्न तीन घन्टाभन्दा बढी नै लाग्ने रहेछ । बाटो राम्रो नभएकाले लोकल बसमा जान निकै समय लाग्ने । सानो गाडी लैजान नसकिने रहेछ । जिल्ला कृषि विकास कार्यालयमा गाडी राखेर उकालो लागियो । 

भोलिपल्ट नगर कार्यपालिकाका पदाधिकारी तथा अधिकारीहरूसँग छलफल गर्नेक्रममा इन्जिनियर तिम्सिनाले उक्त कथा सुनाए । उनले आफू दुई पटक चीन गएर मौरी पालन तथा जलस्रोत व्यवस्थापनमा तालिमसमेत लिएको जानकारी पनि गराए । त्यही क्रममा ती चिनियाँ नेतासँगको अन्तरक्रियाको वर्णन गरे ।

यस विषयले एक जना वडाध्यक्षलाई निकै घत लागेछ । उनी हुन्, वडा नं १ का वडाध्यक्ष, प्रदिकुमार तामाङ । एमाले पार्टीका स्थानीय नेता । उनले गत वर्ष आफूले लागू गरेको अल्पकालीन तथा दीर्घकालीन खेतीबारे जानकारी दिए ।

कागती लगाउने र कागती नफलुञ्जेलका लागि खर्च धान्न सोही जमीनमा अकबरे खेती गर्ने कार्यक्रम सञ्चालन गरेछन् । आवेदन आह्वान गरे, खासै चासो गरेनन्, किसानले ।  

थोरै खेती गर्दा व्यापारी नआउने र उत्पादन पनि थोरै हुने हुनाले उनले कम्तीमा पनि पाँच हजार बिरुवा लगाउनुपर्ने र टनेल तथा विरुवा निःशुल्क दिने घोषणा गरे । 

पहिलो पटकमा आवेदन आएनन् तर फेरि पनि माग गरियो । बल्लतल्ल सय दुई गर्दै २६ सय विरुवाको आवेदन आयो । घरघरमा युवाको कमी भएकाले पाकाहरूले नयाँ खेती गर्न नचाहेको ती वडाध्यक्षको ठहर रहेछ । 

यसैक्रममा तिम्सिनाले चीनको उदाहरण दिँदै तिनै वडाध्यक्षलाई नै अकबरे खेती गर्न सुझाव दिए । वडाध्यक्ष पनि खेती गर्न तयार भए । हेरौँ अर्को वर्ष उनको मेहनतको परिणाम कस्तो आउँछ । 

यसै क्रममा प्रमुख प्रशासकीय अधिकृत रामसिंह डडालको सुझाव आयो । उनले पालिकाको नेतृत्वमा बाली चक्लाबन्दी खेती गर्नुपर्ने सुझाव दिए । उनी दार्चुलाका मानिस भएकाले उनले सोही जिल्लाको मार्मा पालिकाको उदाहरण दिए । त्यहाँ पालिकाको नेतृत्वमा चिउरीका उत्पादन तयार पारी काठमाडौँसम्म बेचिँदोरहेछ । 

कार्यकारीले बोल्न के बन्द गरेका थिए, इन्जिनियर तिम्सिनाले मकवानपुरको बकैया पालिकाको उदाहरण दिए । बकैयाले आफैं कम्पनी खोलेर मकैको साइलेज बनाएर पशुपालनमा प्रश्रय दिन खोज्दा पालिकाले व्यापार गर्न पाइँदैन भनेर कम्पनी नै दर्ता गर्न मिलेन । पछि निजी क्षेत्रसँग मिल्नुपर्यो । यसपछि सबैले निजी क्षेत्रसँग मिलेर काम गर्न सहमति जनाए । 

यसरी स्थानीय सरकारहरू जनताका चाहना पूर्ति गर्न उद्दत छन् । अहिले गाउँ उति विभाजित छैन । मिलेमतो छ । बिगार्दा रहेछन् माथिका नेताहरूले ।

धोबी बजारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट जितेका पालिका प्रमुख केवश महत र एमालेबाट जितेकी उपाध्यक्ष दिपा पाख्रिन दुवैले माटो र भूगोल सुहाउँदो रणनीति बनाउनुपर्छ भन्ने सुझाव दिए । 

दुवैका भाषणमा कसरी आर्थिक अवस्थामा सुधार गर्न सकिन्छ भन्नमै केन्द्रीत रह्यो । कार्यक्रममा सहभागी कांग्रेस, एमाले र माओवादीका सबै नेताहरू आर्थिक विकासमा केन्द्रित भएर प्रस्तुत भए । उनीहरूलाई केन्द्रको फोहरी राजनीतिसँग उति चासो देखिएन । 

अझ कान्छाराम तामाङ यसै क्षेत्रका माननीय भएको र उनलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको कदमप्रति पनि खासै चासो देखिएन । स्थानीय कांग्रेसी तथा पालिका प्रमुख त पदमा विजयी भएपछि सभामुखले झैं पार्टीको सदस्यताबाट अलग हुने पर्ने विचार राख्दा रहेछन् । 

सरकारले शिक्षकहरूको माग सम्बोधन गरी आन्दोलन समाप्त पार्नेबारे बेवास्ता गरेकोमा पालिका अध्यक्ष दुःखी रहेछन् ।

महतबाट केन्द्रका नेताले सिके कति राम्रो हुन्थ्यो । 

खासगरी बाहरूले, दाइहरूले, भाउजूहरूले र कामरेडहरूले अझ घन्टीका दाजुभाइहरूले समेत ।  

बरु गाउँघरमा लोकतन्त्र अलि वयष्क हुँदै गरेको अनुभव भयो । यो क्रम कहिले साँगाबाट उपत्यका भित्रेला ? (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्) 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ