काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल शिक्षक महासंघले गत चैत २० गतेदेखि थालेको आन्दोलनको आज १९ औँ दिन पनि जारी राखेको छ ।
शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिए ।
राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।
शिक्षकहरुले शनिबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आईतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने उद्घोष गर्दै मध्यान्हदेखि राजधानीको बुद्धनगरमा भेला हुन आफ्ना कार्यकर्तालाई आग्रह गरेपछि शिक्षक महासंघले समय परिवर्तन गरेका हुन् ।