राप्रपासँगको विरोध कार्यक्रम नजुधाउन शिक्षकको आन्दोलन बिहानै, अनिवार्य उपस्थित हुन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
811
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाल शिक्षक महासंघले गत चैत २० गतेदेखि थालेको आन्दोलनको आज १९ औँ दिन हो । प्रायः मध्यान्हदेखि थाल्दै आएको आन्दोलनको कार्यक्रम आज भने बिहमान ९ बजे नै शुरु गरिने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने उद्घोष गर्दै मध्यान्हदेखि राजधानीको बुद्धनगरमा भेला हुन आफ्ना कार्यकर्तालाई आग्रह गरेपछि शिक्षक महासंघले भने बिहान ९ बजेदेखि नै आन्दोलन थालेर १२ बजेभित्र सक्ने तयारी गरेको छ ।
जसका कारण आज नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडकमा लामो समय ट्राफिक असर पर्नेछ ।
महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनेको छ ।
आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत कुनै पनि क्रियाकलापमा संलग्न नहुनसमेत महासंघले सबैमा आग्रह गरेको छ ।
जसका कारण विद्यार्थीको नयाँ शैषिक सत्र अलपत्र परेको छ ।
कक्षा १२ को परीक्षा यही ११ गतेदेखि हुँदै गर्दा उक्त परीक्षामा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले अनुरोध गरेको छ ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक नेताहरुसँग गरेको वार्ता निष्कर्षमा नपुगेपछि शिक्षकहरु थप आक्रामक भएका छन् ।