arrow

प्रधानमन्त्रीज्यू झुक्किएर पनि निरोको बाटोमा हिँड्ने कोसिस नगर्नुहोला

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ वैशाख ६ शनिबार
badri-ojha-82-1-6y.jpg

सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार काठमाडौँ ।

विषयः लचकता सम्बन्धमा

प्रस्तुत विषयमा देशको पछिल्लो अवस्था, सामाजिक सञ्जालको बढ्दो प्रभाव र आर्टिफिसियल इन्टेलिजेन्सको प्रभाव दुनियाँ सामु जगजायरै छ । यसले समाजमा पार्ने असरबारे मैले के सुझाउँ र, अहिलेको सरकारका प्रमूख सम्माननीय प्रधानमन्त्रीज्यू १८ को हुँदा म जन्न्मेको रहेछु । विकिपिडियाले यसै भन्यो । कमसेकम पनि वर्षको एकका दरले पनि १८ भोटो फटाउनुभयो । यसै ज्ञान बढी भयो । कुरै सकियो ।

उहाँको गठवन्धनका अर्का नेता त अझ दिन खाका । यसमा थप्नै परेन । कुरा शुुरु गरौँ रोम सम्राट निरोको कथाबाट । उनको पूरा नाम निरो क्लाउडियस सिजर अगस्टस जर्मिनिकस हो । यो नाम पढ्न कठिन भएकाले उनलाई मात्र निरो नामले चिनिन्छ । 

सबैलाई जानकारी भएकै विषय हो, रोमका राजा निरोबारे । उनी सन् ३७ मा जन्मे, ५४ मा राजा भए र सन् ६८ मा आत्महत्या गरी मरे । 

आमाको सहयोगमा सोह्रै वर्षमा राजा भए । सहयोगी असाध्यै राम्रा थिए, ज्ञानी थिए । खुब जमेर शासन गरे । 

विस्तारै शासनको माद चढ्दै गयो । शुरुमा आमा मारे । सहयोगी मारे । आफूलाई मन नपर्ने सबै सिध्याए । 

उनलाई दरबार बनाउने जग्गा चाहियो र सन् ६४ मा रोममा आगो लगाए । चार दिनसम्म रोम डढ्यो । पछि आगो लगाएको आरोपमा इसाई धर्मगुरुहरुमाथि कारबाही गरे । रोम डढेका बेला बाँसुरी बजाएर बस्थे भन्ने पनि उनीमाथि आरोप छ । 

उनी संगीत साधनामा समय बिताउँथे, अभिनय गर्थे र कविता लेख्थे । तत्कालीन समाजमा यस्ता काम गर्नेलाई उति सम्मान गरिँदैनथ्यो । आफू मदमस्तमा जीवन बिताउनका लागि हरेक वर्ष कर बढाउँथे । 

सन् ६८ मा पुग्दा ३० वर्षको उमेर उनी विरुद्ध आन्दोलन भयो । गाल्बा नाम गरेका उनकै गभर्नले उनलाई सत्ताबाट हटाइदिए । अनि सिनेटले निरोलाई राष्ट्रिय शत्रु घोषित गरेपछि एउटा गतिलो कविको अन्त्य भन्दै उनले आत्महत्या गरे । 

शिक्षकहरुको आन्दोलनको सोह्रौँ दिन ४ गते म पनि आन्दोलन हेर्न गएँ । तपाई‌ंका सहयोगीहरुले तपाईंलाई पनि भने होलान् ।  दश बार हजार त पक्कै थिए होला, आन्दोलनकारी । 

माइतीघरदेखि नयाँबानेश्वरस्थित एभरेष्ट होटलसम्म सडक पूरै कब्जा गरेर बसेका भेटिए । करिब ५० जनासँग त मैलै अन्तरवार्ता पनि लिएँ । कोही त रिसाए पनि । आखिर गुरु न हुन् । छिटपुट घमण्ड त के जान्थ्यो र । ठूलै हुँ भन्ने भाव झल्किन्थ्यो । 

उनीहरुको आन्दोलनको सारमा मलाई जम्मा दुईवटा कुरा लाग्यो, पहिलो हो, उनीहरुमाथि राज्यले गर्नुपर्ने सम्मान । दोस्रो हो, उनीहरुले उदाहरण दिएजस्तो शिक्षाको अवस्थामा सुधार । 

यति गर्दा देशले किन दुः ख मान्नुपर्छ र । आखिर उनीहरुले नै बनाइदिएको पार्टीको प्रमुख हुनुहुन्छ तपाईं । किन निरोले झैं सहयोगीका कुरालाई बेवास्ता गर्नुहुन्छ ? सुने अनुसार केही समय त तपाईले पनि शिक्षण गर्नु भो रे । तथ्य थाहा भएन । सुनेको मात्र ।

मेरा टोलछिमेकका दाइहरु भन्थे, नेपालमा वामपन्थीहरु, अझ एमाले, त्यसमा पनि माले त शिक्षकहरुले नै ग्रुम गरेको पार्टी हो । अनि अहिले तिनै साथीहरु वा उनका सन्तानहरु वा उनका आफन्तहरु सडकमा बिलौना गर्दै हिँड्दा तपाईंलाई चित्त दुखेन ? 

शिक्षकहरुकै अनुसार एक थरिका शिक्षकहरु महिनाको आठ हजार तलबमा पढाउँछन् रे । ती शिक्षकहरुको मर्म बुझ्नुपर्ने होइन र ? 

आज अमेरिकी डलरको भाउ १३६.५९ रुपैयाँ रहेछ । यस हिसाबले गुन्दा आठ हजार नेपाली मुद्राको ५८.६ डलर हुँदो रहेछ । 

म अहिले राति, अझ बिहानका राति २ बजे यो लेख लेख्दैछु । शिक्षकहरुको आन्दोदनबाट फर्केपछि सुत्नका मैले धेरै प्रयास गरेँ । ध्यान गरेँ । तर सुत्न कठिन भो । अनि उठेर लेख्न बसेँ । यति लेखेपछि हल्का भयो । यो लेख प्रकाशित हुँदा शायद म ब्युँझेको नहुँला । 

म आशा गर्दछु, म ब्युँझिँदा तपाईंले शिक्षक समस्या समाधानमा महत्वपूर्ण निर्णय लिनुहुनेछ । 

अस्ति राजासमर्थकको आन्दोलनले तपाईंको छविमा मसी छ्यापेको थियो । आन्दोलनमा सडकको डिभाइडरमा बसेको मान्छेलाई गोली लागेको भिडियो । तपाईंले पनि हेर्नुभो होला । गोली धेरै परबाट हानिएको थियो । अझ पछाडिबाट । यदि प्रहरीले हानेको भए त्यसो गर्न मिल्छ ? तपाईंले गृहमन्त्रीलाई सोध्नुभएन ? कानूनको शासन अझ विधिको शासन भने यही हो कि ? 

टिभी पत्रकार जलाइए । उनको क्यामेराको अझै पत्तो छैन भन्छन् । यी यस्ता विषय हुन्, जसले देशभित्र मात्र होइन, विदेशमा पनि नेपालको दुर्नाम गराउँछन् । 

अनगिन्ती अधिकारवादीहरुले पत्रकार जलाएर मार्ने देशमा नेपालको नाम जोड्ने छन् । पत्रकार जलाउने देश कुन हो भनेर हाजिरी जवाफमा सोध्लान् । 

उत्तर बन्छौँ हामी । शायद डेकेन्द्र थापा र विरेन्द्र साहपछि यसरी पत्रकार मारिएका थिएनन् होला । जलाएर मारिएको त पहिलो पटक नै जस्तो लाग्छ । 

छानबिन टोली किन बनेन ? विश्वले तपाईंलाई मौनरुपमा सोधिरहेको छ । मारेको जसले होस्, मारिनेका आफन्तले सही जानकारी पाउनु पर्दछ ।  

भोलि नेपालको पासपोर्ट बोकेर खाडी छिर्नेको तलब घट्छ । जुन देशमा शिक्षकले त ५८ डलरमा काम गर्छ भने त्यो देशको श्रमिकले खाडीमा त्योभन्दा बढी पाउला ?

महिनामा साढे अन्ठाउन्न डलरमा काम लगाउने देश, त्यो देशको प्रधानमन्त्री, त्यसमा पनि निवाचित प्रधानमन्त्री, कुनै टिके होइन । कसैले बनाइदिएको होइन । कसैको सिफारिसमा परेर बनेको होइन । दुई तिहाइको बहमतले छानेको । मत दिएको प्रधानमन्त्री । 

किन यो दुर्नाम सहनुहुन्छ ? 
किन कानून ल्याउनमा ढिलाइ गर्नुहुन्छ ? अस्ति त्यतिका अध्यादेश ल्याउँदा यो पनि गरिदिएको भए हुन्नथ्यो । अथवा मन्त्रीपरिषद्को बैठकले गर्नसक्ने समाधानमा छैन ? संविधान संशोधनका विषयपछि गरौँला तर मिल्ने जति गरौँ न । 

आखिर अहिलेका सबै ठूला नेता प्रधानमन्त्री हुँदा शिक्षकहरुसँग सहमति गरिएको रहेछ । किन कार्यान्वयन गर्न नसकिने विषयमा सम्झौता गरेको त ? 

सरकारमा बस्दा र नबस्दा किन बोली फेरिन्छ ? अनि हेपिएका र सम्मानबाट विमुख पारिएकाहरुले कस्तो शिक्षा देलान् ? 

कमसेकम जलेका पत्रकारको दुधे बालकमाथि त दया गरौँ । जलेर सकिएका तिनको आत्माले नसरापोस् नेपालीलाई । आन्दोलनकारीलाई । प्रहरीमाथि गाडी कुदाउनेलाई, पछाडिबाट गोली हान्नेलाई । 

हिजो राजा चाहियो भनेर आन्दोलन गर्नेहरुले शिक्षकहरुलाई प्रयोग गर्न सक्ने खतरा छ । 

यदि यसो भए हाम्रो १६ वर्षे गणतन्त्र धरापमा पर्छ । हामीले फेरि आन्दोलन गर्नुपर्छ । यता छिमेकीहरुबाट सिक्ने हो कि । बंगलादेश, श्रीलंका आदिका घटनाबाट । निरोको कथाबाट सिक्ने हो कि ? 

त्यसैले अब ढिला नगरौँ । डुंगा डुब्दा ऊ मात्र होइन, हामी पनि पानीमा खस्छौँ । हामी पनि डुब्छौँ । डुंगामा कुद्दै गरेको कमिलो पनि डुब्छ । सके तैरिन्छ तर कहिले नदीपारि पुग्ला र ? त्यसैले अब ढिला नगरौँ । म करदाता मतदाता हुँ । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ