शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ – प्रधानमन्त्री ओली
तपाईँहरूले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
830
Shares
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए ।
“समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन । शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ । तपाईँहरूले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ”, उनले भने ।
प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।
यसैबीच देशभरबाट प्रतिनिधित्व गरेर आएका शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । उनीहरु दैनिक माइतीघरमा भेला भएर बानेश्वरसम्म आएर धर्ना दिँदै आएका हुन् ।
आफूहरुले न्याय नपाएसम्म काठमाडौँबाट नफर्कने उनीहरुले बताउँदै आएका छन् ।