प्रदूषणले सीमा नाघ्यो, काठमाडौँसँगै अन्य सहर पनि प्रदूषित, यसरी भयो यो अवस्था
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
848
Shares
काठमाडौँ । पछिल्ला तीन सातादेखि काठमाडौँ विश्वकै प्रदूषित सहरमा शीर्ष स्थानमा रहँदै आएको छ । केही समयका लागि भारत वा अन्य देशका सहरले उछिने पनि एयर क्वालिटि इन्डेक्स एक्यूआई भने काठमाडौँको घटेको हुँदैन ।
निरन्तर प्रदूषित हुँदा पनि सरकारले कुनै कदम चालेको छैन । न यसअघिका वर्षहरुमा यो अवस्था हुँदा नै गर्दथ्यो । वर्षा नभइ सुख्खा भएका कारणले यसपालि बढी नै प्रदूषित भयो ।
त्यस्तै आगलागी र डढेलोलेसमेत असर गर्दै आएको छ । काठमाडौँ मात्र नभइ उपत्यकाका पाटन, भक्तपुर र जोडिएका सहरहरु सबै प्रदूषित छन् । उपत्यका बाहिर पोखरा, भैरहवा, नेपालगञ्ज, इटहरी, भरतपुर र जनकपुरको स्थिति पनि खराब नै रहेको छ ।
यता जल तथा मौसम विज्ञान विभागले सुक्खा वायुमण्डल र कमजोर भिजिबिलिटीका कारण वायु प्रदूषण जोखिमयुक्त अवस्थामा पुगेको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै विभागले लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रम वृद्धि भएका कारणले वायुमण्डल सुक्खा हुँदा साथै तुवाँलोको असरले पारदर्शिता घटेकाले वायु प्रदूषण थप जोखिमयुक्त अवस्थामा पुगेको जानकारी दिएको छ ।
विभागले गत चैत ९ र १० गते देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भए पनि त्यसको प्रभाव कम परेको र पश्चिमी वायुको प्रभाव निकै कमजोर रहेकाले पर्याप्त वर्षा नभएको उल्लेख गरेको छ । त्यो वर्षा काठमाडौँमा भने हुन सकेन । फाटफुट केही ठाउँमा मात्र परेको थियो ।
विभागले आगामी तीन दिन देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना भए पनि देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक हुन तथा आवश्यक सतर्कता अपनाउन अपीलसमेत गरेको छ ।
बुधबार पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका जिल्लामा भीषण वर्षा भएको हो । तर यो निरन्तर हुन सकेन । यसले उक्त क्षेत्रमा केही राहत दिएको छ ।
काठमाडौँमा बुधबार पनि वर्षा हुने छाँट देखिन्न । मौसम धुम्म छ । मौसम महाशाखाले अपरान्हतिर काठमाडौँमा वर्षा हुन सक्ने सम्भावना औँल्याएको छ ।
वर्षा नहुँदा र वायु प्रदूषण बढ्दा रोग बढ्दो छ । हावामा हानिकारक वस्तु भएकाले स्वासप्रश्वासमा ठूलो समस्या निम्तिएको छ । त्यस्तै आँखा र छालाको समस्या बढेको छ ।