arrow

आईपीएलमा १० वर्षपछि हरायो बैंगलुरूले मुम्बईलाई, हार्दिक-तिलकको प्रयास असफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
rcb-mumbai.jpg

काठमाडौँ  । रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत भएको खेलमा मुम्बई इन्डियन्स (एमआई) लाई १२ रनले पराजित गरेको छ। 

यो जितसँगै आरसीबीले १० वर्षपछि मुम्बईलाई उसकै घरेलु मैदान वानखेडे स्टेडियममा हराउन सफल भएको छ। यसअघि बैंगलुरूले २०१५ को सिजनमा मुम्बईलाई वानखेडेमा पराजित गरेको थियो।

मुम्बईले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको बैंगलुरूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रनको विशाल स्कोर खडा गरेको थियो। बैंगलुरूका लागि कप्तान रजत पाटीदारले ३२ बलमा ६४ रन र विराट कोहलीले ४४ बलमा ६७ रनको अर्धशतकीय पारी खेले। जितेश शर्माले अविजित ४० रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो। मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ३० बलमा ४२ रन र तिलक वर्माले २४ बलमा ५६ रनको आक्रामक पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

बैंगलुरूका लागि क्रुणाल पाण्ड्याले सर्वाधिक ४ विकेट लिए भने यश दयाल र जोश हेजलवुडले २-२ विकेट हात पारे।

यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरसीबीका कप्तान रजत पाटीदार प्लेयर अफ द म्याच घोषित भए। यो जितसँगै बैंगलुरू ४ खेलमा ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई ५ खेलमा ४ हार बेहोर्दै आठौं स्थानमा छ।

यसअघि बैंगलुरूले चेन्नई सुपर किंग्स (सीएसके) लाई उसैको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा १७ वर्षपछि हराएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ