निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
562
Shares
झापा । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा स्थानीय सरोकार भएकाहरूले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल गर्न माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष टीकाराज ढकालले एसियाली राजमार्गमा स्तरोन्नति भइरहेको सडकमा धुलो नियन्त्रण नगरिएकाले आवतजावत कष्टकर र वातावरण प्रदूषित भएको बताए ।
उनले सुक्खा र हावा चल्ने समय भएकाले सडकबाट फैलिने धुलोले वायु प्रदूषणको रुप लिएको भन्दै यसबाट सर्वसाधारणको स्वास्थ्यमा गम्भीर आघात पुर्याइरहेको गुनासो गरे ।
उपभोक्त जागरण अभियानका केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेले एसियाली राजमार्गको काँकडभिट्टाबाट दमकसम्म निर्माणाधीन खण्डमा धुलो अनियन्त्रित भएको जनगुनासो आएको विषयमा समितिको ध्यानाकर्षण गराए ।
राजमार्गका यात्रीले मात्र नभई सडक वरपरका बासिन्दालेसमेत धुलोको सास्ती खेप्नु परिरहेको जनाउँदै उनले सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनीलाई तत्काल धुलो नियन्त्रण गर्न निर्देशन दिनुपर्ने माग गरे ।
राजमार्गमा दैनिक पाँच पटक पानी छ्यापेर धुलो नियन्त्रण गर्न सकिने धारणा राख्दै उनले गहिरो खाडलका रुपमा रहेका पुल र कल्भर्टको डाइभर्सन क्षेत्र सवारी आवागमनका दृष्टिले सुविधाजनक बनाउनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राजमार्ग निर्माण क्रममा फैलिएको धुलो प्रदूषणका बारेमा पटकपटक गुनासो आइरहेको जनाउँदै सम्बन्धित निर्माण व्यवसायी र सम्बद्ध सरकारी निकायलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
झापाको काँकडभिट्टादेखि पाडाजुँगीसम्मको ४५ किलोमिटर पूर्व-पश्चिम राजमार्गमा हाल एभ्रास्कन कालिका जेभीले राजमार्गको स्तरोन्नति कार्य ठेक्कामार्फत गरिरहेको छ ।
राजमार्गको यो पूर्वी खण्डलाई काँकडभिट्टा लौकही सडक योजना कार्यालय दमकले अनुगमन गर्ने जिम्मेवारी पाएको छ । यहाँ एक सय ४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भइरहेको छ भने १८ मध्ये १७ वटाको काम शुरु गर्ने तयारी भइरहेको योजना कार्यालय दमकका आयोजना प्रमुख इञ्जिनियर सुनीलबाबु पन्तले जानकारी दिए ।
विसं २०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यो आयोजना विसं २०८३ माघ १९ गते सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।