काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनमा प्राडा विजयप्रसाद मिश्रले अग्रता जारी राखेका छन् । प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौँ, विराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुँदाँ मिश्रले अग्रता लिइरहेका हुन् ।
उनलाई रमन श्रेष्ठले पछ्याइरहेका छन् । अन्य तीन जना अध्यक्षका उम्मेदवार भने निकै तल छन् । गत शनिबार निर्वाचनमा भावी अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाइएको थियो ।
२७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् । जसका लागि सोमबार मध्यान्ह १२ बजेबाट मतगणना शुरू भएको हो ।
बारको भावी अध्यक्षका लागि समूहगत दुई र ३ जना स्वतन्त्र गरी पाँचजनाको उम्मेदवारी परेको छ । जसअनुसार वरिष्ठ अधिवक्ता मिश्र, वरिष्ठ अधिवक्ता श्रेष्ठ सहित अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार ९ हजार ९५७ मतदाता रहेकामध्ये ८० प्रतिशत मत खसेको छ । उनका अनुसार काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेकामध्ये काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतमा थियो, जसमा करिब ६ हजार मतदाता रहेका छन् ।