ल क्याम्पसमा स्ववियु चुनाव गराउन माग गर्दै नेविसंघ गयो उच्च अदालतमा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
2.7k
Shares
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा गत चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भए पनि कानून पढ्ने विद्यार्थीहरु भएको नेपाल ल क्याम्पसमा भने अहिलेसम्म चुनाव हुन सकेको छैन ।
विविध विवादका कारणले सङ्गठन दर्ता प्रकृयासमेत शुरु हुन नसकेको अवस्थामा नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल ल क्याम्पसका विद्यार्थीहरूले यथाशीघ्र निर्वाचन सम्पन्न गराई पाउँ भनी उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका छन् ।
नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका इकाई सभापति अधिवक्ता मोहम्मद माजीद प्रवेज, सचिव मनमोहन भट्ट एवं नेताहरु रुपेश खनाल, सुशान्त पराजुली, आयुष भण्डारी एवं विधिशा मिश्रले क्याम्पस, निर्वाचन समिति एवं त्रिविको केन्द्रीय अनुगमन समितिलाई विपक्षी बनाई परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
लोकतान्त्रिक प्रणालीको मूल्य मान्यता अनुरूपको आवधिक निर्वाचन सुनिश्चित हुनुपर्नेमा कानूनकै क्याम्पसमा निर्वाचन हुन नसक्नु दुःखद रहेको बताउँदै क्याम्पस प्रशासनलाई समय समयमा ध्यान आकर्षण गराउँदा पनि निर्वाचन हुन नसकेकाले कानूनी उपचारको बाटो आफूहरूले रोजेको ऋट निवेदकहरू बताउँछन् ।
त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० बमोजिम स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल दुई वर्षको हुने र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ बमोजिम निर्वाचन सम्पन्न गराउनुपर्ने कानूनी दायित्व रहेको र सो दायित्व परिपालना गराउनका लागि परमादेशको आदेश माग गर्दै निर्वाचनको माग गरी रिट दायर गरिएको हो ।