काठमाडौँ । अहिलेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र केन्द्रका नेताहरुको स्पष्ट गुट देखिएको छ ।
यो गुटमा पार्टी महामन्त्री गगनकुमार थापाले बाजी मार्न सफल भएका छन् । त्रिचन्द्र क्याम्पसको राजनीतिबाट मुख्य राजनीतिक धारमा आएका गगनलाई त्रिचन्द्रमै परास्त गर्न कांग्रेसभित्रकै शेखर कोइराला समूह र उनको समूहलाई साथ दिन सभापति शेरबहादुर देउवाको समूह नै एकजुट भए पनि पराजित गर्न भने सकेन ।
स्ववियु चुनावमा सभापतिमा गगन निकटका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले विजयी भएका छन् । उनले एक हजार २१५ मत पाए । उनी नै नेविसंघका आधिकारिक उम्मेदवार थिए ।
तर उनलाई हराउन बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका सागर न्यौपानेले भने मात्र ६८३ मत ल्याए । उनी शेखर कोइराला गुटका हुन् ।
उनलाई साथ दिन अर्का नेविसंघका बागी उम्मेदवार श्रीधर श्रेष्ठ (शेरबहादुर पक्षका) ले १९ गते मतदान हुने दिनमात्र उम्मेदवारी छाडेका थिए । यता प्रभाव कम भएको त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रमित बिष्टले भने ४३१ मतमात्रै पाए ।
यसअघि चैत ५ गते अधिकांश त्रिविका क्याम्पसमा चुनाव भएको थियो । तर केही क्याम्पसमा भने अझै पनि चुनाव हुन सकेको छैन । त्रिचन्द्रमा १३ गते पनि चुनाव नभएपछि तेस्रो पटक मिति तोकी चुनाव भएको हो ।
यो चुनावलाई विशेषगरी कांग्रेसभित्र आगामी १५ औँ महाधिवेशनको नतिजासँगसमेत आँकलन गरेर हेरिएको छ । १४ औँ महाधिवेशनमा शेखर र गगन एकै समूहमा भए पनि एक पटकमात्र सभापतिमा लड्छु भनेका शेखरले दोस्रो पटक इच्छा देखाउँदा गगन समूह छाडेर एक्लै देश दौडाहामा हिँड्न थालेका छन् ।
उनको विद्यार्थी राजनीतिमा पकड नभए पनि गगनसँग तिक्तता पोख्न संस्थापनको सहारा लिँदै हिँडिरहेका छन् । यद्यपि सफलता निकै टाढा देखिएको छ ।