लुम्बिनी । बुटवल–बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको क्षेत्रभित्र पर्ने १३ किलोमिटर सडक यतिबेला ढकमक्क फुलेको बेगमबेलीले सौन्दर्यता फैलाएको छ । वसन्त ऋतुको आगमनसँगै सडकका डिभाइडरमा फुलेको बेगमबेलीले सडकलाई आकर्षक बनाउनुको साथै यात्रुहरुको मन लोभ्याएको छ ।
चार वर्षअघि तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्यकरणका लागि भन्दै लगाएको ‘बेगमबेली’को ढकमक्क मनमोहक दृश्यले सर्वसाधारणहरुको ध्यान तानेको छ ।
चार लेन सडक विस्तारपछि तिलोत्तमा ५ नयाँमिलका एक व्यवसायी सुरज काफ्लेले आफ्नो घर अगाडिको सडक डिभाइडरमा दर्लाम महाकाली हरियाली पार्क नाम दिएर हरियाली बनाएपछि स्थानीय तथा केन्द्रीयस्तरका अनलाइन, छापा र टेलिभिजन प्रकाशन एवं प्रसारण भएपछि यसको लहर नै चलेको थियो ।
डिभाइडरमा फूल रोपेर हराभरा बनाउने कार्यमा लुम्बिनी नर्सरी गार्डेनका सञ्चालक रमेश पाण्डेले ‘बकमबेली’ लगायत विभिन्न प्रजातिका फुलका बिरुवा रोपेर एउटा अभियान नै चलाए ।
‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियान अन्तर्गत २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि अभियन्ताहरुले फूल रोप्ने कामलाई तीव्रता दिएका थिए ।
उजाड देखिने चार लेन सडकको ग्रिनबेल्ट अहिले हराभरा भएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले ग्रिनबेल्टमा हुर्किएका फूल तथा रुख बिरुवाको संरक्षणमा विशेष ध्यान दिएको नगरपालिकाले ग्रिनबेल्टका बिरुवा जोगाउन तारबार व्यवस्थापन र नियमित पानी सिंचाइ गरिरहेको बताए ।
‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा विभिन्न प्रकारका फूल र बिरुवा लगाएको थियो । अहिले सिद्धार्थ राजमार्ग राताम्मे भएको छ ।