आईपीएलमा अश्विनीको सनसनीपूर्ण प्रदर्शन, कोलकातालाई धरासायी पार्दै मुम्बईको पहिलो जित
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
541
Shares
काठमाडौँ । मुम्बई इन्डियन्स (एमआई) ले आईपीएल २०२५ मा डेब्यु खेलाडी अश्विनी कुमारको सनसनीपूर्ण प्रदर्शनमा पहिलो जित दर्ता गरेको छ। सोमबार वानखेडे स्टेडियममा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ८ विकेटले हराएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन मात्र बनाउन सक्यो। केकेआरका लागि अंगक्रिस रघुवंशीले सर्वाधिक २६ रन बनाए।
मुम्बईका लागि डेब्यु खेलाडी अश्विनी कुमारले ४ विकेट लिए। उनले २४ रन खर्चेर ४ विकेट लिएका हुन्। आईपीएल डेब्यु खेलमा ४ विकेट लिने उनी पहिलो भारतीय खेलाडी बनेका छन्। त्यस्तै दीपक चहरले २ तथा ट्रेन्ट बोल्ट, हार्दिक पाण्डेया र भिग्नेश पुथुरले १–२ विकेट लिए।
११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाएर १२१ रन बनाउँदै जित हासिल गर्यो। मुम्बईका लागि रायन रिकेल्टनले ६२ रनको अर्धशतकीय पारी खेले भने सूर्यकुमार यादव २७ रनमा नटआउट रहे। रोहित शर्माले १३ र विल ज्याक्सले १६ रन बनाए। दुबैलाई आन्द्रे रसेलले आउट गरे।
खेलमा केही रोमाञ्चक क्षण र रेकर्डहरू पनि बने। अश्विनीले डेब्यु खेलमा ४ विकेट लिँदै रेकर्ड बनाए। ट्रेन्ट बोल्टले सुनिल नरेनलाई योर्करमा बोल्ड गरे। वेंकटेशले २ ओभरमा दुई जीवनदान पाए। नमन धीरले हर्षित राणाको डाइभिङ क्याच लिए।
आईपीएलमा कुनै एक भेन्युमा कुनै टिमविरुद्ध सबैभन्दा धेरै जितको रेकर्ड मुम्बई इन्डियन्सको नाममा छ। मुम्बईले वानखेडे स्टेडियममा कोलकाता नाइट राइडर्सविरुद्ध १० खेल जितेको छ। त्यस्तै, कोलकाता नाइट राइडर्सले कोलकातामा पञ्जाब किंग्सविरुद्ध ९ खेल जितेको छ।